मुस्कानसहितको प्रहरी सेवा : कार्यकक्षमै सेवाग्राहीमाथि मुक्का प्रहार



दैलेख । दैलेख प्रहरीमा सेवा लिन आएका एक सेवाग्राही प्रहरीबाटै कुटिएका छन्। नारायण नगरपालिका–६ बसपार्कका ओम रेग्मीको चार महिनाअघि हराएको मोबाइल फेला परेपछि प्रहरीमा दिएको निवेदनअनुसार फेला पार्ने मान्छेसहित आइतबार जानकारी गराउन जाँदा जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्र जित सुनारले अपशब्द प्रयोग गर्दै कुटपिट गरेका हुन्।

पीडित रेग्मीले उपलब्ध गराएको भिडियोमा इन्स्पेक्टर सुनारले प्रहरीले नागरिकलाई दिने मुस्कानसहितको सेवाको बर्खिलाप मुक्का प्रहार गरेको देखिन्छ। रेग्मीले चार महिनाअघि घर अगाडिबाट हराएको मोबाइल खोजीपाऊँ भनेर प्रहरीमा निवेदन दिएको र प्रहरीले चासो नदेखाएपछि आफैँ विभिन्न माध्यमबाट फेला पारेको बताए।

‘हराएको मोबाइल खोजीपाऊँ भनेर प्रहरीमा दिएको निवेदनको सुनुवाइ हुनु त परको कुरा हो चार महिना लगाएर मोबाइल आफैँले भेट्टाएपछि प्रहरीलाई जानकारी गराऔँ भेटाउने र हराउने दुवै जनाको साइन गराएर मोबाइल बुझ्छुभन्दा इन्स्पेक्टरबाट कुटाई खानुपर्‍योु उनले भने।

इन्स्पेक्टर इन्द्र जित सुनारले मुक्का प्रहार गरेको भिडियोमा रेग्मीको गल्ती भने देखिँदैन। उनले हराएको मोबाइल फेला परेपछि प्रहरीमा दिएको निवेदनका आधारमा भेट्टाउने र बुझ्नेको साइन गराएर मात्र मोबाइल बुझ्ने भनेको सुनिन्छ। तर, इन्स्पेक्टर सुनारले आफूलाई कानुन नसिकाउन भन्दै अपशब्द बोलेको सुनिन्छ।

सुनारले मुला शब्द प्रयोग गर्दै यहाँको अनुसन्धानको विषयमा नसिकाउन भनेका छन्। रेग्मीले दुवै जनाको साइनबिना मोबाइल नबुझ्ने भनेर बाहिरिएपछि पुनः इन्स्पेक्टर सुनारले आफ्नो कार्यकक्षमा बोलाएर सेवाग्राही रेग्मीलाई मुक्का प्रहार गरेको देखिन्छ।

सम्बन्धित समाचार