वाग्मती प्रदेश सरकारले एकै पटक चार सय कर्मचारी सरुवा गर्‍यो



मकवानपुर । वाग्मती प्रदेश सरकारले एकै पटक चार सय कर्मचारीको सरुवा गरेको छ । प्रदेशको मुख्यमन्त्री कार्यालय र अरू सबै मन्त्रालय गरेर चार सय कर्मचारीको सरुवा गरिएको हो ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबैभन्दा धेरै एक सय २० कर्मचारीको एकै पटक सरुवा गरेको मुख्यमन्त्री राजेन्द्र पाण्डेका निजी सचिव अच्युत लामिछानेले जानकारी दिनुभयो । अन्तर मन्त्रालयमा गरिने सरुवा मात्र मुख्यमन्त्री कार्यालयले गरेको हो । अरू मन्त्रालयले आफ्ना मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारी सरुवा गरेको लामिछानेले बताउनुभयो ।

मन्त्रीहरूले सरुवाका नाममा आफू निकट कर्मचारीलाई काखा र अरूलाई पाखा लगाउने काम भएको वन तथा वातावरण मन्त्रालयका एक कर्मचारीले बताएका छन् । मन्त्रीहरूले पार्टी निकटका कर्मचारीलाई धेरै कमाइ हुने कार्यालयमा सरुवा गरेको र अरू कर्मचारीलाई अन्यत्र सरुवा गरिएको भन्दै केही कर्मचारीले विरोधसमेत गरेका छन् ।

प्रदेश सरकारले हरेक वर्ष असोज महिनामा मात्र सरुवा गर्न मिल्ने कार्यविधिलाई संशोधन गरेर अहिले एकै पटक यतिका धेरै कर्मचारीको सरुवा गरेको हो । गएको असोज महिनामा पनि प्रदेशका मन्त्रालयहरूले नियमित सरुवा गरिसकेका छन् । अहिले फेरि कार्यविधि संशोधन गरेर कर्मचारी सरुवा गरिएको हो । मुख्यमन्त्री रोजेन्द्र पाण्डेको निर्देशनमा आफ्ना नजिकका कर्मचारीलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयमार्फत काठमाण्डौ र हेटौँडाका यातायात कार्यालयमा सरुवा गरेको पाइएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशुपक्षी मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग मन्त्रालयका धेरै कर्मचारी सरुवा गरिएको छ ।

सम्बन्धित समाचार