काँग्रेस संखुवासभाले जिल्लाका ७६ वटै वडामा संगठन निर्माण एवं प्रशिक्षण गर्ने



संखुवासभा । नेपाली काँग्रेस संखुवासभाले जिल्लाभरका ७६ वटै वडामा संगठन निर्माण एवम् प्रशिक्षण गर्ने भएको छ । पार्टी सभापति दिपक खड्काको सभापतित्वमा बुधबार जिल्ला सदरमुकाम खाँदबारीमा बसेको पार्टीको बैठकले नेपाली काँग्रेस जिल्ला कार्यसमिति संखुवासभाले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले पार्टीको गएको ०७८ मंसीर २ देखि पुस २७ गतेसम्म गरेका निर्णयलाई अनुमोदन गरेको छ । पार्टीले तोकेका प्रतिनिधीले जिम्मेवारीपूर्वक कार्ययोजना र पार्टीका गतिबिधीका बारेमा कार्यकर्ताले गलत गरेको पाईएमा आवश्यक कारबाही अगाडि बढाउने निर्णय समेत गरेको छ ।

बैठकले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचनलाई प्रभावकारी बनाउन सम्पूर्ण नेता तथा कार्यकर्तालाई परिचालन गर्ने र निर्वाचनमा सबै एकजुटका साथ प्रस्तुत हुने र पार्टी हितविपरीत काम गरेमा विधान बमोजिम आवश्यक कारबाही गर्ने निर्णय गरेको सभापति खड्काले जानकारी दिए ।

उक्त बैठकले पार्टीका उपसभापति रामकुमार जिमीको संयोजकत्वमा अनुशासन समिति समेत गठन गरेको छ । समितिको सदस्यमा चित्ररेखा अधिकारी र विपीन राई सदस्य रहेका छन् । उक्त बैठकले पार्टी उपसभापति जिमीका माईला सुपुत्र मणिन्द्र जिमीको निधनमा शोक प्रश्ताब समेत पारित गरेको छ ।

सम्बन्धित समाचार