सिलिचोङ : असिनाले अन्नबाली नष्ट



संखुवासभा । जिल्लाको सिलिचोङ गाउँपालिका वडा नं. २ बालासहित विभिन्न स्थानमा परेको असिनासहितको पानीले अन्नबाली नष्ट गरेको छ । उम्रिसकेको मकैखेतीसहित फलफुल तथा तरकारी धेरै क्षति पुगेको छ । मंगलबार दिउँसो २ः३० तिर परेको असिनासहितको पानीले क्षति पुराएको हो ।

बाक्लो गरिपरेको असिनाले क्षति पुराएपछि स्थानीय निराश छन् । कलकलाउँदो गरेर हुर्कँदै गरिको मकैबाली काम नै नलाग्ने गरि असिनाले कुटिदिएको सिलिचोङ–२ की अञ्जना मेवाहाङले बताईन् । उनले भर्खरै गोढ्दै गरेको मकै फेदैसम्म असिनाले कुटेपछि चिन्तामा रहेको बताईन् । संखुवासभाको उत्तरी क्षेत्रमा पर्ने सिलिचोङ गाउँपालिकामा मकै खेती धेरै लगाईने गरिन्छ । उक्त खेतीबाट नै घर धान्नुपर्ने बाध्यता रहेका उनीहरुलाई यो बर्ष कसरी विताउने भन्ने चिन्ता छ । आधा बर्ष जसो पुग्ने मकै खेती पनि करिब आधा घण्टा परेको असिनाले क्षत विक्षत बनाई दिएको छ ।

मकैसंगै अन्य हिउँदे तरकारी तथा फलफुलमा पनि क्षति पुगेको छ । नगदेवालीको रुपमा रहेको रुद्राक्ष, अलैंचीमा समेत क्षति पुराएको छ । सुन्तलामा पनि उत्तिकै क्षति पुराएको सिलिचोङ–२ का गोविन्द मेवाहाङले जानकारी दिए । उनका अनुसार करेला, सागसब्जीहरुमा क्षति पुराएको छ । सुन्तला, रुद्राक्षको हाँगासमेत भाँचिदिएको छ । स्थानीय कृषकहरुको दैनिकीमा नै समस्या आउने गरि असिनाले क्षति पुराएको हो । उनीहरुले चाँडै क्षतिपुर्तिको माग गरेका छन् ।

सम्बन्धित समाचार