शेर्पा परिवारद्धारा बालकल्याणलाई ५० हजारको सामग्री हस्तान्तरण



संखुवासभा । स्वर्गीय पूर्वशिक्षक ललितकुमार शेर्पा र स्वर्गीय ठिलेन शेर्पाको परिवारले खाँदबारी नगरपालिका–७ मा रहेको बालकल्याण गृहलाई ५० हजार बराबरको सामग्री हस्तान्तरण गरेका छन् ।

शुक्रबार एक कार्यक्रम बीच स्वर्गीय द्धय शेर्पाको स्मृतिमा उनीहरुको परिवारले बालकल्याण गृहमा रहेका बालबालिकाहरुलाई सहयोग हस्तान्तरण गरेका हुन् । शेर्पा परिवारले स्वर्गीय बुबा ललितकुमार र हजुरबुबा ठिलेनको नाममा सहयोग गरिएको आङ्दावा शेर्पाले जानकारी दिए ।

आङ्दावा ललितकुमारका जेठा छोरा तथा ठिलेनको नाति हुन् । उक्त हस्तान्तरण कार्यक्रममा हजुरआमा किपा शेर्पा, फुर्बाखाण्डु शेर्पा, रेजिना शेर्पा, आङ्दावा शेर्पा र आङ्छिरिङ शेर्पाको उपस्थिती रहेको थियो ।

उनीहरुले खाद्य सामग्री, स्टेशनरी, खेलकुद सामग्री तथा कार्पेट लगायतका गृहका बालबालिकाहरुको आवश्यकता अनुसारका सामाग्री हस्तान्तरण गरिएको थियो । शेर्पा परिवारको यो सहयोगले बालकल्याण गृहका बालबालिकाहरुको संरक्षणमा ठुलो टेवा पुगेको माट्स नेपाल संस्थाका कार्यालय सचिब सुजन अधिकारीले बताए ।

माट्स नेपालद्धारा संचालित बालकल्याण गृह लामो समय देखि खाँदबारीमा संचालनमा रहेको छ ।

सम्बन्धित समाचार