संखुवासभामा महिला तथा घरेलु हिंसाका घटनामा वृद्धि



संखुवासभा । संखुवासभामा ६ महिनाको अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट २९ जना पीडित भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० संखुवासभाले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा २९ जना पीडित भएको सार्वजनिक गरिएको छ।

जसमा घरेलु हिंसाका २१, कुटपिट राज्यपक्षबाट २, गैरराज्य पक्षबाट १, महिला तथा बालिका बलात्कारका ५ घटना गरी जिल्लामा २९ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख रहेको बताइएको छ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको हो। जनचेतना र प्रचारप्रचारको कमीले जिल्लामा पछिल्लो समय घर झगडा खुलेर बाहिर ल्याउन नसकेको खाँदबारी नगरपालिका नगर उपप्रमुख महेश्वरा श्रेष्ठले बताइन्।

उनले घटना बाहिर ल्याउँदा घर परिवारको इज्जत जान्छ भन्ने डर, सामाजिक र पारिवारिक डरले घटना लुकाइने गरेको बताइन्। मानव अधिकार उल्लङ्घन न्यूनीकरण गर्ने सबैको सहयोग आवश्यक रहेको उपप्रमुख श्रेष्ठले बताइन्। पीडितलाई न्यायको पहुँचमा ल्याउन स्थानीय सरकारले पनि जनचेतनामूलक कार्यक्रम ल्याउने बताइन्।

सामान्य प्रकृतिका घटना स्थानीय तहका न्यायिक समितिमै मुद्दा दर्ता, मेलमिलाप गर्नुपर्ने भएपनि प्रहरी तर्फ नै आर्कषण हुने गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए। मादक पदार्थ र लागुऔषध सेवनका कारण पनि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढेको डिएसपी सुवेदीले बताए।

गम्भीर प्रकृतिका घटना प्रहरीले नै मुद्दा दर्ता गरेको अघि बढाएको बताए। जिल्लामा विभिन्न घटनाको विवरण हेर्दा महिला बालबालिका नै बढी पीडित भएको बताए। विगत बर्षमा प्रस्तुत गरेको प्रतिवेदन भन्दा यो पटक प्रतिवेदनमा धेरै समसामयिक र तथ्य घटनाको अभिलेख रहेको नेपाल पत्रकार महासंघ संखुवासभाका कार्यवाहक अध्यक्ष कृष्णराज शाक्यले बताए। कार्यक्रममा विभिन्न सरकार तथा गैर सरकारी निकाय पत्रकार, सामाजिक अभियान्ता, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार