पहिरोले उत्तर दक्षिण सडक खण्ड अवरुद्ध



संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडक खण्डको खाँदबारी –किमाथांका सडक अवरुद्ध भएको छ।

लगातारको बर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका –३ नयाँ बस्तीमा सडक खण्ड अवरुद्ध भएको हो। उत्तर दक्षिण सडक अवरुद्ध हुँदा मकालु वडा नम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दिपेश रजकले जानकारी दिए।

सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका र मकालुका केही वडासँग सम्बन्ध टुटेको छ। सडक कार्यालयका प्रमुख इन्जिनियर रजकका अनुसार सडक खण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ।

पहिरोले दुई दिनदेखि मकालुका केही वडा र भोटखोला गाउँपालिका जाने सडक पूर्ण रुपमा अवरुद्ध भएको सडक कार्यालयका इन्जिनियर रजकले बताए। पहिरोले मकालु ५ र ३ जोड्ने अरुण नदीको मोटरेबल पुल समेत जोखिममा परेको छ। पहिरोले पुल आसपासको भूभाग कटान गरेपछि अरुण नदीको पुल जोखिमा परेको उनले बताए।

लगातारको बर्षाले उत्तर दक्षिण सडक खण्डका विभिन्न ठाउँमा पहिरो खसेको सडक कार्यालयका प्रमुख रजकले बताए। केही यता त्यस क्षेत्रमा लगातार बर्षा भइरहेको छ। बर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकको भनाइ छ।

अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दा सम्म मात्रै चलेका छन्।

सम्बन्धित समाचार