काठमाण्डौको तापक्रम ३२ डिग्री नाघ्यो



काठमाण्डौ । काठमाण्डौमा हिजो मनसुन सुरु भएयताकै सबैभन्दा गर्मी भएको छ । काठमाण्डौमा हिजोको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो ।

हिजो यसपालि मनसुन लागेपछिकै सबैभन्दा धेरै गर्मी भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । पानी नपर्दा काठमाण्डौसहित देशभर नै गर्मी बढिरहेको छ । अहिले भने काठमाण्डौसहित वाग्मती, प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा शीतल छ ।

हिजोअस्ति बिहानै घाम चर्किने गरे पनि यी प्रदेशका केही ठाउँमा आज बिहान हल्का पानी पर्नुका साथै मौसम आंशिकदेखि सामान्य बदली भएकाले केही शीतल भएको हो । तर, केही घण्टामा फेरि बादल हटेर घाम लाग्ने सम्भावना रहेको मौसमविद् भट्टराईले बताउनुभयो । उहाँका अनुसार उपत्यकासहित केही ठाउँमा लागेको बादल केही घण्टामा हटेर फेरि घाम चर्किने सम्भावना छ । यसले गर्दा अहिले शीतल भए पनि गर्मी फेरि बढ्ने अनुमान छ ।

वाग्मती, गण्डकी र प्रदेश(१ को मौसम आंशिकदेखि सामान्य बदली भए पनि अन्य प्रदेशमा भने बिहानैदेखि घाम चर्किएको छ । गर्मीका कारण तराईका जिल्लाको जनजीवन बढी प्रभावित भइरहेको छ । चर्को घाम र गर्मीले दिउँसोको समयमा घरबाट बाहिर निस्कनै मुस्किल भएको छ ।

सम्बन्धित समाचार