लोककाब्य ‘भाँडाकुटी’को चर्चा परिचर्चा



संखुवासभा । साहित्यकार ताराबहादुर बढाथोकी ‘पाख्रीवासे कान्छो’ले लेख्नुभएको लोककाब्य ‘भाँडाकुटी’को चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । बरुण बहुमुखी क्याम्पस खाँदबारीको नेपाली विभागको आयोजनामा आज बरुणबहुमुखी क्याम्पसको हलमा चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली विषय विभागका प्रमुख राजेन्द्र सर्वहाराको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य प्रमुख अतिथी रहनुभएको थियो । त्यस्तै, खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडा र सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे विशिष्ट अतिथी रहनुभएको थियो ।

कार्यक्रममा ‘भाँडाकुटी’ कृतिमाथी बरुण बहुमुखी क्याम्पस नेपाली विषय विभागका प्राध्यपक लक्ष्मी ढुङ्गाना, हिमालय माध्यमिक विद्यालय खाँदबारीका शिक्षक भरत कुलुङ र महेन्द्र उच्च माध्यमिक विद्यालयका शिक्षक कृष्ण चापागाईले टिप्पणी गरेका थिए । कृतिको नाम ‘भाँडाकुटी’ राखिदा बालबालिका सम्बन्धी पुस्तक जस्तो लागे पनि सिंगो देश बोक्ने शसक्त रचनाहरु रहेको टिप्पणीकारहरुले बताएका छन् । भाँडाकुटी भित्र विभिन्न समुदायको संस्कारहरुलाई जोड्दै गाउँले परिवेशको दैनिकीहरुलाई टपक्क टिपिएकोले समावेशी कृति सावित भएको समेत बताएका छन् । देशलाई राजनितिक दलका नेताहरुले भाँडाकुटी खेल्ने ठाउँको रुपमा लिएको र देश निर्माणको नाम गरेर भाँडाकुटी मात्र खेल्ने गरेको ब्यङ्ग्य समेत कृतिमा पाईने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले नेपाली साहित्यमा उहाँको योगदानको चर्चा गर्नुहुँदै भाँडाकुटी लोक काब्य उत्कृष्ठ कृति रहेको बताउनुभयो । यस अघि प्रकाशन गर्नुभएको जीन्दगीका कुईनेटोहरु संस्मरण संग्रह पनि उत्कृष्ठ रहेको र थुप्रै बरिष्ठ साहित्यकारहरुले उहाँको बारेमा चर्चा गरेको बताउनुभयो । साहित्यकार बुढाथोकीले विभिन्न समयमा फरक फरक किसिमको कार्यक्रमहरु आयोजना गर्दै सङ्खुवासभालाई देशब्यापी परिचित बनाउने कार्यमा योगदान पुराउनुभएकोमा धन्यवाद समेत ब्यक्त गर्नुभएको थियो ।

सम्बन्धित समाचार