स्वर्गीय गायक खेमराज गुरुङको सम्पूर्ण गीतहरु संकलन गरी युट्युबमा राखिने



संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४मा जन्मिएका स्वर्गीय गायक खेमराज गुरुङको सम्पूर्ण गीतहरु संकलन गरी युट्युबमा राखिने भएको छ ।

खेमराज गुरुङ ट्रस्टले उहाँको नाममा युट्युब च्यानल स्थापना गरी शब्द, स्वर र संगीत  भरेका उहाँका सम्पूर्ण गीतहरु संकलन गरी युट्युबमा राखिने जनाएको हो । २०५८ सालमा बजारमा आएको पूर्वेली भाका भएको ‘वारि जमुना पारि जमुना’ बोलको गीतले उहाँलाई विश्वमाझ चिनाएको थियो । त्यो गीत विश्वकै सयमध्ये उत्कृष्ट रुचाइएको मध्येमा परेको थियो ।

अझै पनि यो बोलको गीत आमश्रोताले अझै पनि गाउने गरेका छन् भने उत्तिकै लोकप्रिय समेत रहेको छ । त्यो बाहेक स्वर्गीय गायक गुरुङको ‘आलु तामाले’, ‘खोलाको चिसो पानी’ लगायत दुई दर्जनभन्दा बढी गीत चर्चित रहेका छन् ।

दुई छोराका पिता गुरुङको तीन वर्षअघि उहाँको उपचारको क्रममा निधन भएको थियो । उहाँका जेठा छोरा शुभमको समेत गीतसंगीतप्रति लगाव रहेको छ । ट्रस्टले गुरुङसँग सम्बन्धित गीतहरूको संग्रह नभएकाले सबैलाई त्यस्तो गीत भए आफूहरूलाई सहयोग गर्न आग्रह गरेको छ ।

ट्रस्टका संरक्षक खेमराजकी आमा तुलसीमाया गुरुङले खेमराजले झण्डै ५ सयभन्दा बढी गीत गाएको बताउनु भयो । उत्तिकै संख्यामा संगीत, शब्दरचना गरेको उहाँको भनाइ छ । उहाँको गीति संग्रह ‘ढाक्रे’ समेत केही समयअघि बजारमा आएको थियो । खेमराजले गीत संगीतका साथै सामाजिक सेवा समेत सक्रिय भएकाले आममानिसहरुको मन जितेका थिए ।

खेमराजसँग सम्बन्धित शब्द रचना, संगीत र स्वर रहेका सबै गीतलाई पछिल्लो पिँढीसम्म सुनाउन र एउटा संग्रहको रुपमा स्थापित गर्न युट्युबमा राखिने योजना बनाएको ट्रस्टले जनाएको छ ।

सम्बन्धित समाचार