भद्रपुर विमानस्थल १५ दिन का लागि दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द हुने



भद्रपुर । झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य सुरु गर्न लागेको छ। विमानस्थलको धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिको कार्य गर्न लागेपछि यही भदौ २० देखि असोज ४ सम्म (१५ दिन) का लागि दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द हुने भएको छ।

१५ सय मिटर लम्बाई र ३० मिटर चौडाइ रहेको धावनमार्ग अहिले जीर्ण बन्दै गएको छ। जीर्ण बन्दै गएको धावनमार्ग १२ वर्षपछि मर्मत कार्य हुन लागेको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले जानकारी दिए। नेपाल नागरिक उड्डयन प्राधिकरणले भद्रपुर विमानस्थलको धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाखमा ठेक्का लगाएको छ।

गौरी–पार्वती–देव एन्ड सायर जेभि काठमाडौँले धावनमार्ग मर्मतका लागि ठेक्का लिएको हो। २०७५ फागुनमा लिएको ठेक्का अवधि २०७६ माघसम्म तोकिएको छ। एक वर्षको समय अवधि तोकिए पनि १५ दिनभित्र दिनरात काम गरेर धावनमार्गको मर्मत सम्भारसँगै स्तरोन्नति काम सक्नु पर्ने कार्यालयका प्रमुख पूर्णप्रसाद चुडालले बताए।

सम्बन्धित समाचार