पूर्वमन्त्री आलमविरुद्धको रिट हेर्दाहेर्दैमा



काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलमविरुद्धको रिट हेर्दा हेर्दैमा राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो। शुक्रबार भएको सुनुवाइमा बहस नसकिएपछि रिट फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो।

पूर्वमन्त्री आलममाथि विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मारेको अभियोग लागेको छ। यस मुद्दामा यसअघि पनि पटक पटक पेशी तोकिएर सुनुवाइ हुन सकेको थिएन।

शुक्रबार हेर्दाहेर्दैमा परेको आलमविरुद्धको रिटमा अर्को साता सुनुवाइ हुनसक्ने सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। ‘अर्को पेशी कहिले तोकियो मकहाँ सूचना आएको छैन’‚ उनले भने, ‘यो साताको बिहीबार हेर्दाहेर्दैमा परेको मुद्दा अर्को साता पनि बिहीबार नै हेर्ने अभ्यास छ। यसको पनि सम्भवतः आगामी शुक्रबार सुनुवाइ हुन्छ होला।’

रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगन्जले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा निवेदन दिएका थिए।

आलममाथि २०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उद्देश्यले पेशेवर बम बनाउनेहरू ल्याई बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्यूँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोप छ।

सम्बन्धित समाचार