‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन, आफ्नै पुरानो मोटरसाइकल चढ्छु’



सुनसरी । ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्रबाट मेयरमा विजयी हुनुभएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महँगो गाडी प्रयोग नगरि जनताको सेवा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताउनुभएको छ । ‘म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु, किनकि ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु’, उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ ।

धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदैँ आउनुभएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्नो निजी नम्बर पनि दिनुभएको छ । ‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ, भने मलाई कल गर्नु होला (९८१९०१२३७१ र ९७४६९६५१९८०, तपाईँको सेवक, जय धरान’, उहाँले भन्नुभएको छ ।

उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले मेयरका लागि को १ ज ६४० नम्बरको जीप तयारी अवस्थामा राखिदिएको छ । चालक पनि तयारी अवस्थामा रहेका छन् । यस्तै उपमेयरका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिनुभयो । ‘हामीले उहाँहरूले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौँ, सुविधा लिने वा नलिने भन्ने उहाँहरूको इच्छा हो’, अधिकृत खतिवडाले भन्नुभयो । हिजो मङ्गलवार पदभार ग्रहणपछि मेयर राई उपमहानगरपालिका पुग्नुभएको छैन । आफू जनताका आधारभूत र अति आवश्यक समस्या समाधान नभएसम्म फिल्डमै हुने मेयरमा विजयी हुनेबित्तिकै उहाँले घोषणा गर्नुभएको थियो ।

मेयरमा निर्वाचित भएपछि विभिन्न सामाजिक सङ्घ संस्थाको सम्मानका लागि निम्ता आउन थाले पनि उहाँले सामाजिक सञ्जालबाटै सम्मानका लागि नबोलाइदिन आग्रहसमेत गर्नुभएको छ ।

लामो सयमदेखि सामाजिक अभियानमा लाग्नुभएका साम्पाङले चुनावको मुद्दा नै खानेपानी बनाउनुभएको थियो । मङ्गलवार पदभार ग्रहण गर्दै उहाँले पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावट रोक्ने प्रतिबद्धता जनाउनुभएको छ । खानेपानी वितरणलाई व्यवस्थापन गर्न नसक्दा नै खानेपानीको अभाव चुलिँदै गएको उहाँको भनाइ छ । पदभार ग्रहण गर्दै साम्पाङले भन्नुभयो, ‘परियोजनाको उत्पादन बढाउने र स्रोत थप्ने कामलाई अघि बढाउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’

राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागू गर्न अध्ययन गरी सुझाव पेस गर्न एक कार्यदल गठन गर्ने निर्णय पनि गर्नुभएको छ । कार्यदलको संयोजकमा उपमेयर अइन्द्रविक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजस्व महाशाखा प्रमुख रहनुभएको छ । यस्तै सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित एक अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष वा उहाँले तोकेका व्यक्ति कार्यदलमा सदस्य रहने छन् । कार्यदलले धरानको कर वैज्ञानिक भए–नभएको, आयस्रोतको पहिचान गर्ने र दररेट निर्धारणका लागि अध्ययन गरी सुझाव दिइने मेयर राईले जानकारी दिनुभयो । सर्वदलीय सहभागितामा धरानको विकासमा मिलेर अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

सम्बन्धित समाचार