ताप्लेजुङमा पहिरोले आठ घर बगायो



ताप्लेजुङ । ताप्लेजुङमा आठ वटा घर पहिरोेले बगाएको छ । निरन्तर वर्षा भएसँगै गएको पहिरोले आठ वटा घर बगाएको हो । गएको बिहीवारयता जिल्लामा वर्षाका कारण बाढी–पहिरोले क्षति गर्न थालेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरीजङ्घा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिरोले बगाएको छ । ३५ घरपरिवार विस्थापित हुन पुगेका समितिले जनाएको छ ।

विस्थापित परिवार अहिले सुरक्षित ठाउँमा रहेको विद्यालयमा बस्दै आएको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले जानकारी दिनुभयो । गएको शुक्रवार सिरीजङ्घामा पहिरोमा परि दुई जनाको ज्यान गएको थियो । त्यस्तै मिक्वाखोला गाउँपालिकामा तीन घर पहिरोले बगाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो ।

फक्ताङलुङ गाउँपालिका–२ खेजिनेम गाउँमा दुई घर पहिरोले बगाएको छ । तीस घरपरिवार विस्थापित भएका फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिनुभयो । उहाँका अुनसार जोखिमयुक्त बस्तीका घरपरिवालाई सुरक्षित ठाउँमा जानका लागि आवश्यक सामग्रीसमेत गाउँपालिकाले उपलब्ध गराइसकेको छ । केही घरपरिवार विद्यालयको भवनमा समेत बस्दै आएको गाउँपालिकाले जनाएको छ ।

निरन्तर वर्षाका कारण गाउँ–गाउँका बस्ती उच्च जोखिम छन् । सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमासमेत समस्या हुँदै आएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

सम्बन्धित समाचार