युक्रेनमा उत्पादित खाद्यान्नमा रुसले लगाएको नाकाबन्दीमा ईयूको कडा टिप्पणी



युक्रेनमा उत्पादित खाद्यान्नमा रुसले लगाएको नाकाबन्दीमा यूरोपेली सङ्घ ईयूले कडा टिप्पणी गरेको छ ।

ईयूका विदेशनीति प्रमुख जुजेप बोरेलले रुसले खाद्यान्न रोकेर युद्ध अपराध गरेको प्रतिक्रिया दिनुभएको छ । दशौँ लाख टन गहुँ युक्रेनमा अड्किरहँदा बाँकी विश्वका मानिसले भोकमरीको सामना गर्नुपर्ने अवस्थाको कल्पना गर्न नसकिने ईयूका विदेशनीति प्रमुख बोरेलको भनाइ छ ।

साथै उहाँले रुसलाई विश्वव्यापी भोकमरीसँग नखेल्न र युक्रेनी बन्दरगाहको अवरोध खुलाउन समेत आह्वान गर्नुभएको बीबीसीले उल्लेख गरेको छ । पश्चिमा देशहरूले रुसलाई युक्रेनको ब्ल्याक सी तर्फका बन्दरगाहमा नाकाबन्दी अन्त्य गर्न र खाद्यान्नको विशाल भण्डार विश्व बजारसम्म पुर्याउने बाटो खोल्न माग गरिरहेका छन् ।

रुसले भने खाद्यान्नको बढ्दो मूल्य र मध्यपूर्व तथा अफ्रिकामा देखा परेको खाद्य सङ्कट ईयूले लगाइरहेको आर्थिक नाकाबन्दीका कारण भएको दाबी गर्दै आएको छ । रुसी दाबीमा २७ देश सदस्य रहेको ईयूमा भिन्न मत देखिन्छ ।

बोरेलले आफूहरूको प्रतिबन्ध खाद्यान्न र मलखादमा लक्षित नरहेको र यो सङ्कटका लागि युरोपेली आर्थिक प्रतिबन्ध जिम्मेवार नरहेको बताउनुभएको छ ।

सम्बन्धित समाचार