इन्धनको मूल्यवृद्धि फिर्ता नलिए विकास निर्माणका काम रोक्ने व्यवसायीको चेतावनी



काठमाण्डौ । निर्माण व्यवसायीले सरकारले इन्धनमा गरेको मूल्यवृद्धि फिर्ता नलिए विकास निर्माणका काम रोक्ने चेतावनी दिएका छन् ।

इन्धनमा सरकारले पछिल्लो पटक गरेको मूल्यवृद्धिका कारण निर्माण सामग्रीको समेत भाउ बढेर निर्माण उद्योग नै ठप्प हुन लागेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।

निर्माण व्यवसायीलाई तत्काल राहत दिने गरी सरकारले मूल्य समायोजन निर्देशिका जारी नगरेमा ‘कन्स्ट्रक्शन होलिडे’का बीच पनि देशभर सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजना र अति आवश्यक निर्माण परियोजना समेत बन्द गरी यसअघि स्थगित आन्दोलनका कार्यक्रमसहित एक हप्ताभित्रै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने महासङ्घले चेतावनी दिएको छ ।

देशको समग्र अर्थतन्त्रका सूचक नकारात्मक रहेको विषम अवस्थामा पेट्रोलमा एकै पटक प्रतिलिटर २१ रुपैयाँ र डिजल तथा मट्टीतेलमा २७ रुपैयाँ बढाएर रुग्ण अवस्थामा रहेको निर्माण उद्योग थप आक्रान्त भएको नेपाल निर्माण व्यवसायी महासङ्घले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार