कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थले बजेट दिएन : मन्त्री पौडेल



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको गुनासो गरेका छन्।

आइतबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले यस्तो बताएका हुन्।

उनले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्था माग गरेर अर्थ मन्त्रालयलाई पठाएको बताए। मन्त्री पौडेलले सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म दिवा खाजा पुर्‍याइने भने पनि बजेट प्रस्तुत हुँदा कक्षा ८ सम्म पुर्‍याउने गरी भन्ने भाषाको प्रयोग गरिएको बताए।

उनले यो गल्ती मन्त्रालयको तर्फबाट नभएको उल्लेख गर्दै यसप्रकारका सबै त्रुटिहरू सच्याउन आवश्यक रहेको बताए।

‘दिवा खाजा हामीले कक्षा ८ सम्म नै भनेर पठाएका थियौँ। ६ सम्म थपिएर आएको हुँदा खुशी व्यक्त गर्दछु। तर कक्षा ८ सम्म हामीले गरेको प्रस्ताव आएन। अर्थ मन्त्रालयले पनि बजेट कमी भयो भन्नुभएको छ। नीति तथा कार्यक्रममा आयो, बजेटमा यो आएन। बजेटमा ८ सम्म पुर्‍याउने गरी हाललाई यो वर्ष छ भन्ने भाषामा आयो। यो मन्त्रालयको तर्फबाट भएको त्रुटी भन्दापनि यसप्रकारका त्रुटिहरू समग्र सच्याउनुपर्छ भन्ने कुरा जायज छ।‘

मन्त्री पौडेलले शिक्षासम्बन्धी हरेक कुराहरू डिजिटल बनाउन मन्त्रालय प्रतिवद्ध रहेको बताए। उनले सबै क्षेत्रमा पेपर लेस प्रविधि अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा रहेको स्पष्ट पारे।

सम्बन्धित समाचार