झापामा विपन्नका लागि ६३० घर निर्माण



बनियानी । झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा ती घर निर्माण भएका हुन् ।

गाउँपालिकामा सन् २०१९ मा ७० , २०२० मा १३०, २०२१ मा २२८ र २०२२ मा १७५ वटा घर निर्माण गरिएको सुरक्षित आवास कार्यक्रमका प्रमुख टीकाप्रसाद कँडेलले जानकारी दिए ।

‘विपन्न वर्ग परिवारलाई लक्षित गरी सुरक्षित, बलियो घर निर्माण गरिएको हो’ उनले भने , ‘केही घर निर्माणका क्रममा छन् ।’ सुरक्षित आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका अतिविपन्न, गरिब, घरविहीन, सुकुम्बासी, पिछाडिएका वर्ग, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका व्यक्ति तथा समुदायलाई लक्षित गरी आवास निर्माण गरिँदै आएको छ ।

संविधानले नै तोकेको आवास हक कार्यान्वयनमा सरकारको एक्लो प्रयासमात्र पर्याप्त नहुने झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । धेरै आवास निर्माण गर्नुपर्ने भएकाले सहारा नेपाल र ह्याविट्याट नेपाल गाउँपालिकाले त्रिपक्षीय साझेदारी गर्दै आएको उल्लेख गरे ।

सम्बन्धित समाचार