स्कुल बसको ठक्करबाट घाइते भएकी बालिकाको मृत्यु



विराटनगर । मोरङको रंगेलीमा आफ्नै स्कुलको बसले ठक्कर दिँदा घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ।

मोरङको रङ्गेली नगरपालिका–७ स्थित माउन्ट मकालु बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा बोर्डिङको एलकेजीमा अध्ययनरत ६ वर्षीया सुनमकुमारी मण्डलको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

‘को १ क ११३० नम्बरको बसले गत मङ्गलबार दिउँसो ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। उनलाई रङ्गेलीमा उपचार नहुने भएपछि थप उपचारका लागि विराटनगर ल्याइको थियो’, उनले भने, ‘उपचारका क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको छ।’

बसको ठक्करबाट नर्सरीमा अध्ययनरत रङ्गेली–७ का ४ वर्षीय रीतिक मण्डलको मङ्गलबार नै मृत्यु भएको थियो। स्कुलबाट छुट्टी भएपछि पैदल घरतिर जाँदै गरेका सुनमकुमारी र रीतिकलाई स्कुलको गेटछेउमै बसले ठक्कर दिएको थियो। विद्यार्थी बोकेर स्कुलबाट निस्किएको बसले ब्याक गर्ने क्रममा उनीहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको विरोधमा उत्रिएका स्थानीय बासिन्दाले टायर बाल्दै प्रदर्शन गरेर स्कुल र स्कुलकै अर्को बसमा तोडफोडसमेत गरेका थिए। बुधबार घटनापछि पीडित पक्ष र जनप्रतिनिधिसहितको बैठक बसेको थियो। बैठकले पीडित परिवारलाई ३ लाख ५० हजार क्षतिपूर्ति स्वरूप दिन सहमति भएको थियो।

बसचालकलाई प्रहरीले नियन्त्रणमा लिइएको डिएसी श्रेष्ठले बताए। ‘बस चालकलाई सवारी ऐनमा मुद्दा चल्छ, सहचालक फरार छ’, उनले भने, ‘सहचालक भारततिर भागेको छ भन्ने छ खोजतलास जारी छ।’

सम्बन्धित समाचार