भोजपुरी हिरोइन बनाइदिने भन्दै बालिका बेच्ने पक्राउ



पर्सा । वीरगन्जकी १५ बर्षीय बालिकालाई भोजपुरी चलचित्रको हिरोइन बनाइदिने भनी फकाएर लगी बेच्ने २ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

उनीहरुलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको हो। पीडित बालिका बेचिएको ठाउँबाट भागेर आई अभिभावक हुँदै प्रहरीमा दिएको बयानका आधारमा २२ वर्षीय भारतीय युवक र ४० वर्षीया रौतहटकी एक महिला पक्राउ परेका हुन्।

पक्राउ पर्ने अभियुक्तहरू भारत बिहार जिल्ला सीतामढी, बासपट्टी पचरा बस्ने रोशन तिवारी र साविक रौतहट जिल्ला गौर नगरपालिका वडा नं. २ की चमेली देवी रहेको पर्सा प्रहरीले जनाएको छ।

मानव बेचबिखन तथा ओसारपसार कसुरमा उनीहरुलाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद पनि थप गराई अझ अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले बताए। चमेली हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा बस्दै आएकी थिइन्।

अभियुक्तद्वयले बेचेको ठाउँबाट बालिका भागेर गएको मंगलबार ९ असार २१ गते ० आफन्त हुँदै प्रहरी सम्पर्कमा आएकी थिइन्।

ती बालिकालाई २०७८ साल माघ १२ गते अभियुक्तद्वयले भोजपुरी फिल्ममा हिरोइन खेल्न मिलाइदिने भन्दै ललाई फकाई यहाँबाट सम्पर्क विहीन बनाएका थिए। उनीहरुले लगेर एक भारतीयलाई ३० हजारमा बेचेको खुलासा भएको छ।

त्यो व्यक्तिले विभिन्न कार्यक्रममा अश्लील नृत्य गर्न बालिकालाई बाध्य बनाई कसैसँग सम्पर्क गर्न नदिई शारीरिक र मानसिक यातना दिँदै आएको पनि बालिकाको प्रहरीलाई जानकारी दिइन्।

सम्बन्धित समाचार