बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ



धनकुटा । २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहिदभूमि गाउँपालिका–५ का वडाअध्यक्ष ३८ वर्षीय सन्तोष राईलाई प्रहरी शनिबार राति पक्राउ गरेको छ।

पीडित महिलालाई आरोपित राईले शुक्रबार बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि धनकुटा बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले बताए। पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गरिएको छ।

राईले ती युवतीलाई तेह्रथुमको वसन्तपुरस्थित ताप्लेजुङ होटलमा पुर्याएर बन्धक बनाएर बलात्कार गरेको आरोप लागेको छ। धनकुटाको हिले घुम्न जाउँ भनि बोलाएर वसन्तपुर पुर्याइ राति होटलमै बन्धक बनाइ राखि बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ।

पक्राउ परेका राईमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल तेह्रथुम भएकाले कारबाहीको प्रक्रियाको लागि तेह्रथुम प्रहरीलाई जिम्मा लगाउने प्रहरीले जनाएको छ।

घटनाका आरोपित राई गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनी निर्वाचित भएका थिए।

सम्बन्धित समाचार