अछाम बन्याे मदिरा निषेधित क्षेत्र



स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी अछाममा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ९३ (क) बमोजिम जिल्लाभर मादक पदार्थ विक्रिवितरणमा रोक लगाइएको डिएपी निरञ्जनदत्त भट्टले जानकारी दिए । जिल्लामा शान्तिसुरक्षा प्रदान गरी भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न गराउनका लागि मदिराको विक्रिवितरणमा रोक लगाइएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय अछामले यस अघि नै जिल्ला सदमुकामका होटेलहरुमा ४ गतेबाट मदिराको विक्री वितरण नगर्न निर्देशन दिइसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले शंका लागेका होटेलमा जुन सुकै समयमा अनुगमन गर्न सक्ने पनि स्पष्ट पारेको छ । रात्रीकालिन समयमा मापसे गरेर होहल्ला गर्ने प्रवृति रोक्न, अवाञ्छित गतिविधि नियन्त्रण गर्न र सार्वजनिक सुरक्षामा असर पार्ने गतिविधि हुन नदिन मदिरा निषेध गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

अछाममा ४७ मतदान स्थल अति सम्वेदनशिल अछाममा ४७ वटा मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । १२९ मतदान स्थल र १८५ वटा मतदान केन्द्र रहेको अछाममा ६६ वटा मतदान स्थल संवेदनशील  र १६ मतदान स्थल सामान्य रहेको जनाइएको छ । चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजवुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गिकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए । बिकट, सडकको पँहुच नभएका तथा टेलिफोनको नेटवर्क नरहेका मतदान स्थलमा हुन सक्ने अपराधिक घटनालाई मध्यनजर गर्दै मतदान केन्द्रको सुरक्षा स्थितिको वर्गिकरण गरिएको उनले बताए । जिल्लाका १० वटै स्थानिय तहमा नेपाल प्रहरी र म्यादी प्रहरीसँगै विभिन्न ठाउमा सशस्त्र र नेपाली सेनाको वेस क्याम्प खडा गरिएको पनि जानकारी दिए ।

४६ जनाको उम्मेदवारी फिर्ता

स्थानीय तहको निर्वाचनको लागि बिभिन्न पदमा मनोनयन दर्ता गराएका अछाममा ४६ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लाका ६ वटा गाउँपालिका र चार नगरपालिकामा प्रमुख देखि सदस्य पद सम्मका ४६ जनाले मंगलबार उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अछामले जानकारी दिएको छ ।

उम्मेदवारी फिर्ता लिनेमा चार जना प्रमुख, वडा अध्यक्षमा १० र अन्य, खुल्ला, महिला, दलित पदका ३२ सदस्यले उम्मेदवारी फिर्ता लिएका हुन् । संख्यात्मक रुपमा सबैभन्दा धेरै मंगलसेन नगरपालिकाबाट ९ र सबै भन्दा कम बान्नीगढी, जयगढ र तुर्माखाँद गाउँपालिकाबाट एक/एक मात्र उम्मेदवारले फिर्ता लिएका हुन् । प्रमुख पदमा उम्मेदवारी फिर्ता लिनेमा कमलबजार नगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार सुरेन्द्र बिष्ट र राप्रपाबाट मेयर पदका उम्मेदवार डबलबहादुर बिष्ट, साँफेबगर नगरपालिकाबाट मेयर पदका स्वतन्त्र उम्मेदवार ललित कुँवर र रामारोशन गाउपालिकाको प्रमुख पदमा राप्रपाबाट उम्मेदवार लोकेन्द्रबहादुर शाहले उम्मेदवारी फिर्ता लिएका हुन् ।

यस्तै साँफेबगर नगरपालिकाबाट ८, पञ्चदेवल बिनायक नगरपालिका र रामारोशन गाउपालिकाबाट ७/७, चौरपाटी र ढकारी गाउँपालिकाबाट ३/३ र मेल्लेख गाउँपालिकाबाट दुई उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिए ।

सम्बन्धित समाचार