धनुषामा गोली चल्यो, प्रधानाध्यापक गम्भीर घाइते



११ असार, धनुषा । विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आज गोली प्रहार भएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंले गोली चलेको पुष्टि गर्दै गोली प्रहार गर्नेहरुको खोजी भइरहेको जानकारी दिए ।

शर्माको गालामा गोली लागेको छ । उनको अवस्था अहिले गम्भीर छ । उपचारका लागि जनकपुर अञ्चल अस्पतामा भर्ना गरिएको छ ।

जनकपुर उपमहानगरपालिका–७ निवासी प्रअ बिहान ६ः३० बजे आफ्नो घरबाट विद्यालय जाँदै गरेका बेला लक्ष्मीनिया चोकदेखि पश्चिम बाटोमा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए । गोलीप्रहारबाट गम्भीर घाइते भएका प्रअ शर्मालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार