महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेपछि मुख्य प्रशिक्षक थापाको राजीनामा, तीन खेलाडीले लिए सन्‍न्‍यास



काठमाडौं । छैटौं संस्करणको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ। ऐतिहासिक उपाधि उचाल्ने नेपालको सपना अधुरै रहँदा बंगलादेश साफको नयाँ विजेता बनेको हो।

दर्शकको ठूलो साथ पाएको घरेलु टोली नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भएपछि ऐतिहासिक उपलब्धि आत्मसाथ गर्ने सपना अधुरै बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशको रणनीति बुझ्न नसक्दा नेपाल फराकिलो हार बेहोर्न बाध्य भएको हो। बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन्। यस्तै सामसुनाहरले एक गोल थपिन्। नेपालकी अनिता बस्नेतले सान्त्वना गोल फर्काइन्।

खेलको १४औं मिनेटमा सामसुनाहरले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। मोनिका चक्माको पासमा उनले नेपाली गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई छक्याउँदै उत्कृष्ट गोल गरेकी थिइन्। खेलको ४२औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाइन्। कप्तान सबिना खातुनको पासलाई सदुपयोग गर्दै उनले नेपाली रक्षकलाई छक्याउँदै गोल गरेकी थिइन्।

७०औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई २–१ को स्थितिमा ल्याएकी थिइन्। उनले अमिषा कार्कीको पासमा उत्कृष्ट गोल गरेकी थिइन्। खेलको ७७औं मिनेटमा श्रीमोती सरकारले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३–१ को जित दिलाइन्।

घरेलु टोलीविरुद्ध प्रभावशाली जित निकाल्दै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ। बंगलादेशले दोस्रो प्रयासमा उपाधि जितेको हो। यसअघि सन् २०१६ मा पहिलो पटक फाइनल खेले पनि भारतलाई ३–१ को नतिजा सुम्पिएको थियो। नेपाल भने च्याम्पियनसिपको फाइनलमा पाँचौं पटक चुकेको छ। नेपालले यसअघि सन् २०१०, २०१२, २०१४ र २०१९ मा फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको थिएन।

महिला फुटबलमा बंगलादेशले नेपाललाई हराएको यो पहिलो पल्ट हो। यसअघि दुई टोलीबीचको आठ खेलमा नेपाल अपराजित रहेको थियो। प्रतियोगिताभर अपराजित रहेको बंगलादेशले एक गोल मात्र खायो।

तीन खेलाडीको सन्‍न्‍यास

नेपाली टोलीका तीन खेलाडीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्‍न्‍यासको घोषणा गरेका छन्। डिफेन्डर पुनम जर्गामगर, मिडफिल्डर दीपा राई र इन्दिरा राईले सक्रिय खेल जीवन टुङयाउने घोषणा गरेका हुन्। सन्‍न्‍यास घोषणा गरेका तीन जना खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले ब्लेजर प्रदान गर्दै बिदाई गरेका थिए। सन्‍न्‍यास लिएका तीनै खेलाडी विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्ने गर्छन्।

थापाले मुख्य प्रशिक्षक छाडे

महिला साफ च्याम्पियनसिपको छैटौं संस्करणमा पनि नेपाल उपविजेतामै सीमित भएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले पद छाड्ने घोषणा गरेका छन्। उनले आफूले सोचेको लक्ष्य पूरा गर्न नसकेपछि मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन्।
‘मैले जुन लक्ष्य लिएर टोली सम्हालेको थिएँ, त्यो पूरा गर्न सकिनँ। त्यसैले आजैदेखि टिम छाड्छु’, उनले भने, ‘आफूले लिएको लक्ष्य पूरा गर्न नसक्नेले पदमा बस्नु उचित हुँदैन।’

सम्बन्धित समाचार