बेलबारी गोल्डकपको उद्घाटनमा विराटनगर र झापा भिड्दै



विराटनगर । बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आज (मंगलबार) पेम्बा युथ क्लब विराटनगर र रोलिङ एफ सी झापा भिड्दै छन् ।

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक विद्यालयको मैदानमा पाँचौं संस्करणको गोल्डकपको दिउँसो ३ बजे उद्घाटन हुने छ । प्रतियोगिता डाँगीहाट युथ क्लबले आयोजना गरेको हो । गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतले आगामी २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिमको सहभागिता रहेको जानकारी दिए ।

उद्घाटन खेलका प्रतिस्पर्धी विराटनगर र झापासहित प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग, साहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौं, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको एमएम एफ सी वेष्ट बंगाल, युनाइटेड ब्रदर्श कालिङम्पोङ एवं क्यामरुनको एभिनीयर फुटबल क्लब सहभागी हुने बस्नेतले बताए । प्रतियोगिताको चौथो संस्करणको उपाधि भने सशस्त्र प्रहरी बलले उचालेको थियो ।

डाँगीहाट युथ क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक विक्रम वान्तवा राईले प्रतियोगिताको विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार पाउने बताए । गोल्डकपको पुरस्कार राशि यसवर्षदेखि बढाइएको हो । यसअघि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाएका थिए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५÷१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई ३५ हजार रूपैयाँ पुरस्कारको व्यवस्था गरिएको जानकारी राईले दिए । उनका अनुसार प्रत्येक खेलका म्यान अफ दी म्याचले ५ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् । गोल्डकप सम्पन्न गर्न ५२ लाख ६१ हजार रूपैयाँ खर्च र ६१ लाख ९० हजार आम्दानी हुने अनुमान रहेको राईले बताए ।

उनका अनुसार प्रतियोगिताबाट प्राप्त हुने आम्दानीवापतको रकम एकेडेमी सञ्चालन गरी खेलाडी उत्पादन र खेलकुदको विकासमा खर्च गरिने छ । मोफसलमा ठूला खेल प्रतियोगिता आयोजना गर्न कठिन हुने भए पनि खेलकुदको विकास, खेलाडीलाई अवसर तथा नयाँ खेलाडी उत्पादनको उदेश्य राखेर गोल्डकपलाई निरन्तरता दिइएको राईको भनाइ छ ।

 

सम्बन्धित समाचार