आवासीय भवनमा मेडिकल कलेज




राजधानीको घट्टेकुलोस्थित घनाबस्तीबीच आवासीय प्रयोजनका लागि बनाइएको अपार्टमेन्टमै मेडिकल कलेज सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले अनुमति दिएको खुलासा भएको छ । कानुनअनुसार आवासीय प्रयोजनका लागि बनाइएको भवनमा अस्पताल सञ्चालन गर्न पाइँदैन ।

काठमाडौं नेसनल मेडिकल कलेज सञ्चालन गर्न त्रिविले सम्बन्धन दिएको उक्त अपार्टमेन्ट इन्टरनेसनल हाउजिङले आवासीय भवनका रूपमा २०६८ जेठ ३० मा काठमाडौं महानगरपालिकाबाट नक्सा पास भएको छ । फ्रेम स्ट्रक्चर मोडलमा नौ तला निर्माण गरी अपार्टमेन्टले महानगरबाट नक्सा पास गरेको हो । २ रोपनी १० आना १ पैसा ३ दाममा बनेको उक्त भवन काठमाडौं नेसनल मेडिकल कलेजले ५ करोड ७० लाख ५८ हजार ९ सय ७० रुपैयाँमा खरिद गरेको हो ।आजको कान्तिपुरमा खबर छापिएको छ।

ठूलो संख्यामा बिरामीको उपचार गर्नुपर्ने, आपतकालीन अवस्थामा समेत सेवा दिनुपर्ने भएकाले आवासीय भवनको तुलनामा ठूला अस्पतालमा थप सुरक्षा मापदण्ड अपनाइएको हुन्छ । तर काठमाडौं नेसनलको भवनमा यस्तो मापदण्ड पुग्दैन । आकस्मिक अवस्थामा भवनबाहिर टेन्ट बनाएर उपचार गर्ने खाली जग्गासमेत छैन । पर्याप्त पार्किङसमेत छैन ।

काठमाडौं महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकालले अपार्टमेन्टका लागि बनाइएको भवनमा पछिल्लो समय मेडिकल कलेजको शिक्षण अस्पतालको बोर्ड राखिएको बताए । यो भवन बनाउँदा पनि स्थानीयले विरोध गरेका थिए । ‘यो भवन फ्लाट सिस्टममा बिक्री गर्न बनाइएको हो,’ उनले भने, ‘टोलको ढल नै जाम हुने भएपछि स्थानीयले विरोध गरेका थिए ।’ अस्पतालछेउका बासिन्दा रहेका सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार श्रीप्रसाद पण्डितले जथाभावी रूपमा निर्माण स्वीकृति दिएकामा त्यसलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिटसमेत हालेका थिए ।

अस्पतालले अनिवार्य रूपमा गर्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० समेत गराएको छैन । स्वास्थ्य मन्त्रालयबाट शिक्षण अस्पतालको स्वीकृति लिन सम्बन्धित निकायबाट भवनको नक्सा डिजाइन र राष्ट्रिय भवनसंहिताको मापदण्डबमोजिम निर्माण भएको सिफारिस चाहिन्छ । स्वास्थ्य संस्था सञ्चालन गर्न आवश्यक पूर्वाधारसहित भवन निर्माण गरेको लगायत अन्य कागज पेस नगरेकै कारण काठमाडौं नेसनललाई शिक्षण अस्पताल सञ्चालनको स्वीकृति नदिइएको जानकारी स्वास्थ्य मन्त्रालय चिकित्सा शिक्षा महाशाखा प्रमुख भोलाराम श्रेष्ठले दिए । ‘आवासीय भवनमा स्वास्थ्य संस्था सञ्चालन गर्नै पाइँदैन,’ उनले भने, ‘स्वास्थ्य संस्था सञ्चालन गर्न राष्ट्रिय भवनसंहिता बमोजिम उपयुक्त पूर्वाधार हुनुपर्छ ।’ त्यसमा पनि यो भवन ०७२ को भूकम्पले चर्किएर टालटुल गरिएको छ ।

सम्बन्धित समाचार