दाङमा जरायोको सिङ र छालासहित तीन जना पक्राउ


११ श्रावण २०७८, सोमबार


दाङ । दाङमा संरक्षित वन्यजन्तु जरायोको टाउकाको छाला र दुई थान सिङसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका १ गंगटेका २२ वर्षीय जीवन घर्ती, बबई(४ हापुरेका ३९ वर्षीय इन्द्रबहादुर केसी र सल्यान जिल्लाको शारदा नगरपालिका ४ साइलाकाम्दाका २२ वर्षीय विनोद वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

रा १ च ४९७ नम्बरको एम्बुलेन्समा जरायोको सिङसहित तुलसीपुरतर्फ आउँदै गर्दा तुलसीपुरको गहते खोलाबाट उनीहरु पक्राउ गरिएको हो । बबईको हापुरेबाट पूर्व तुलसीपुरतर्फ आउँदै गरेको एम्बुलेन्समा वन्यजन्तुको ओखेटोपहार रहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तुलसीपुर उपमहानगरपालिका ८ गहते खोला नजिक जाँच गर्ने क्रममा उनीहरुको साथबाट जरायोको सिङ बरामद गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये इन्द्रबहादुर केसी एम्बुलेन्स चालक हुन । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

सम्बन्धित समाचार