जुम्ला : छुमचाैरमा बाढीले घट्ट बगाउँदा एक महिलाकाे ज्यान गयाे


१४ श्रावण २०७८, बिहिबार


 

जुम्ला, जुम्लाको छुमचौरमा भीषण वर्षापछि आएको बाढीले घट्ट बगाउँदा अपाङ्गता भएकी एक महिलाकाे ज्यान गएकाे छ। बाढीले घट्ट बगाउँदा जुम्ला पातारासी गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षीया शर्मिला बुढाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।

शारीरिक रुपमा अपाङ्ग र बोल्न नसक्ने महिलालाई बाढीले बगाएकाे प्रहरी निरीक्षक तथा सूचना अधिकारी यौवन चौधरीले बताउनु भयाे। पातारासी गाउँपालिकाका वडाध्यक्ष बिर्खराम बाेहराका अनुसार बाढी आएपछि दौडन नसकेर उहाँलाई बगाएकाे हाे ।

उहाँसँगै घट्ट गएका मुनसोभा बाेहरा र जसकला रावत भने भागेर बाँच्न सफल भएका छन् । बाढीले बगाएर ज्यान गुमाएकी महिलाकाे शव भेटिएर दाहसंस्कार गरिएको वडाध्यक्ष बाेहराले बताउनु भयाे।

बाढीले अहिलेसम्म करिब ६ वटा घट्ट, २० वटाभन्दा बढी चौपाया र एक हेक्टरभन्दा बढी बालीनाली र जग्गामा क्षति पुर्याएकाे वडाध्यक्ष बहोराले जानकारी दिनुभयो । बाढीले वडा नम्बर २ र ३ जोड्ने काठेपुल बगाउँदा आवतजावत गर्न कठिनाइ भएकाे उहाँले बताउनु भएकाे छ ।

सम्बन्धित समाचार