जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएकोबारे अनुसन्धान गर्न छानबिन टोली दार्चुला प्रस्थान


१८ श्रावण २०७८, सोमबार


काठमाण्डौ । दार्चुलाको व्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न छानबिन टोली त्यसतर्फ गएको छ ।

छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली विमानमार्फत दार्चुला गएको हो । आज कैलालीको धनगढी गएर टोली भोलि मात्रै दार्चुला पुग्ने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिनुभयो । छानबिन समिति पुगेपछि प्रत्यक्षदर्शीसँग छलफल हुनेछ ।

छानबिन समितिले १० दिनभित्र प्रतिवेदन सरकारलाई बुझाउनु पर्नेछ । स्थानीय बासिन्दाले भारतीय सीमा सुरक्षा बलको लापरबाहीका कारण जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको भन्दै आएका छन् ।

भारतीय प्रशासनले भने पत्र पठाएर यस घटनामा भारतीय पक्षको कुनै संलग्नता नरहेको दाबी गर्दै आएको छ ।

सम्बन्धित समाचार