इटहरीका मेयरले माफी मागेपछि नगरप्रमुखको कार्यकक्षमा लगाइएको ताला खुल्यो


३० श्रावण २०७८, शनिबार


इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाक चौधरीले माफी मागेका छन् ।

इटहरी ४ याम प्रसाद ढकाललाई कार्यकक्षमा थुनेको विषयमा नेपाली काँग्रेस सँगको छलफलमा माफी मागेका हुन् ।

सोही विषयलाई लिएर आन्दोलनरत काँग्रेस र मेयर चौधरी बिच ४ बुँदे सहमति भएको छ । सहमति सँगै नेपाली काँग्रेसले नगर प्रमुखको कार्यकक्षमा लगाएको ताला खुलेको छ ।

मेयर चौधरीले अबको दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन् । शुक्रवार दिउँसो ४ घण्टा लामो छलफल पछि मेयर कार्यकक्षमा लगाइएको ताला खोलिएको हो ।

सामान्य नागरिक प्रति गरेको अमानवीय व्यवहारको चौतर्फी विवाद र सामाजिक सञ्जालमा विरोध भएपछि काँग्रेस विरोधमा उत्रिएको थियो ।

सहमति पत्रमा सार्वजनिक जग्गा खोजी अभियानमा लागिरहँदा नेपालको संविधान अनुसार कानुनको पालना गरेर काम गर्ने मेयर चौधरीले प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ । त्यस्तै उपमहानगरले गर्ने हरेक सकारात्मक कार्यहरूमा नेपाली काँग्रेसको पनि साथ सहयोग रहने जनाइएको छ ।

नेपाली काँग्रेसको तर्फबाट इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेल र उपमहानगरको तर्फबाट नगर प्रमुख द्वारिकलाल चौधरीले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार