सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व मनाइँदै



बैतडी । आज भदौ १ गते अर्थात् ओल्के संक्रान्ति। बैतडीसहित सुदूरपश्चिममा हर्षोल्लासका साथ यो पर्व मनाइँदैछ। ​ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो।

यसका साथै बिहानै धुहाइ धुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात् उपहार दिने पनि गरिन्छ।

वर्षापछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुसियालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए। यो दिन ओल्कोको रुपमा फलफूल, सागपात, अन्न, दुध, दही, घिउ, गूड र पक्वान्न आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन छ। पछिल्लो समय लुगा कपडा, पैसा वा यस्तै अन्य उपहार समेत दिने गरिन्छ। धेरै जसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन्। यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाहरुको मौलिक पर्व रुपमा पनि रहिआएको छ।

पण्डित पन्तका अनुसार गुठियारहरुले ईष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउने गर्दछन्। ओल्को परापूर्वकालमा केही वर्षअघिसम्म ठूलाबडालाई साना जातकाले चिनो बस्तु चढाउने दिनका रुपमा समेत रहिआएको छ ।

ओल्के संक्रान्तिताका सतरति (सातरातको झरी) पर्दछ। यो समयमा आकाशमा तारा देखिएमा वा वन चर्न गएका भैंसीका सिङ ओभानो भए अनिकाल पर्ने सम्भावना र ऋतुमति धर्तिले नवीन सिर्जना गर्ने थाल्ने विश्वास छ।

प्रकृतिमा नयाँ नयाँ किसिमका बनस्पति र किरा फट्याङ्ग्राहरु देखिनुका साथै धुलोधुवाँ र फोहोर पखालिन्छ र पाखा पखेरामा नवधार (पानीका नयाँ मुहान) फुट्न थाल्ने पनि विश्वास छ। यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर मनाइन्छ।

बुढी हाल्ने
ओल्के संक्रान्तिका दिन गाउ नजिकका अलि उच्चो ठाउँमा सबैजना मिलेर रूखका हाँगाबिंगा‚ झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई ‘बुढी हालेको’ भनिन्छ। यो बुढीलाई असोज संक्रान्तिको साँझ प्रत्येक घरघरबाट एकैपटक राँको निकाली पोलेर ‘बुढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको पण्डित दयाकृष्ण पन्तले बताए। यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतना को कथासँग पनि जोडिएको छ।

सुदूरपश्चिमका पहाडी जिल्लामा र भारतको कुमाउँ गढवालतिर मात्रै यो बुढी पोल्ने पर्व मनाइने गरिएको पण्डित पन्तले बताए। घरबाट राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने गरिन्छ। घरबाट चिरेको काँक्रो लगेर पोलेको बुढीमा थुक्ने गरिन्छ। यसरी बूढी पोलेमा वर्षभरि लुतो लगायतका रोगव्याधीबाट परिवारजन मुक्त हुने मान्यता रहेको छ।

भगवान कृष्णलाई पुतना राक्षेसनीले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाराक्षेशनीको स्तन चुसेर मारेपछि पुतनाको भयानक रुप पैदाभएको तथा मरेको लाशलाई हटाउन नसकेपछि गोकुलवासी ग्वालाहरूले टुक्राटुक्रा पारेको दिनको सम्झनामा आज बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ।

तर‚ पछिल्ला समय युवापुस्ताले खासै ध्यान नदिँदा यो पर्व लोप हुँदै गएको छ। यो पर्वलाई प्रतिष्ठाको पर्व भएकाले मनाउन अपरिहार्य रहेको जानकारहरु बताउँछन्।

सम्बन्धित समाचार