मोरङ कारागारमा दुई दिनमा दुई कैदीको शंकास्पद मृत्यु



विराटनगर । विराटनगरस्थित जिल्ला कारागार मोरङमा दुई दिनको अवधिमा दुई जना कैदीको शंकास्पद मृत्यु भएको छ । कारागारमा कैद सजाय भुक्तान गरिरहेका मोरङको रतुवामाई नगरपालिका–५ का ५२ वर्षीय धनबहादुर गुरुङको मंगलबार र सुनसरीको धरानका ३० वर्षीय सुवास लिम्बूको सोमबार मृत्यु भएको हो । अदालतले जबरजस्ती करणी मुद्दामा गुरुङलाई १० वर्ष कैदको फैसला सुनाएको थियो । उनी २०७४ वैशाख ५ गतेदेखि कारागार बसेर सजाय भुक्तान गरिरहेका कैदी हुन् ।

कोरोना भाइरसविरुद्धको खोप लगाउन अरु कैदीबन्दीसँगै लाइनमा बसेका बेला अचानक बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा गुरुङको मृत्यु भएको र शव परिवारका सदस्यको जिम्मा लगाएर पठाइएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले दिए । उनका अनुसार गुरुङलाई घाँटी सम्बन्धी क्यान्सरको पुरानै समस्या रहेको पाइएको छ ।

त्यस्तै लागुऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लिम्बूको पनि सोमबार मृत्यु भयो । श्वासप्रश्वासमा समस्या भएको भन्दै उनलाई उपचारका लागि कोसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएका लिम्बूका आफन्त र परिवारका सदस्यले भने कारागारभित्र दिइएको यातनाका कारण ज्यान गएको गुनासो गरेका छन् ।

सम्बन्धित समाचार