कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप १२ जना घाइते


४ भाद्र २०७८, शुक्रबार


कञ्चनपुर । भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलानमा असहमति जनाउँदै धर्नामा बसेका नेपाल शिक्षक संघ आबद्ध शिक्षक र सुरक्षाकर्मीबीच झडप भएको छ। झडप हुँदा १२ जना बढी घाईते भएका छन्। प्रहरीमाथि चौतर्फी ढुङ्गा प्रहार हुन थालेपछि अश्रुग्याँस प्रहार गरिएको छ। सुरक्षाकर्मीले ढुङ्गा प्रहार रोक्न नगरपालिका कार्यालयबाट अश्रुग्याँस प्रहार गरेका हुन्।

प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीलाई गल्ली नं। १ बाट लुकेर ढुङ्गा र सिसा प्रहार गरिएको छ। उनीहरूलाई भगाउन अश्रुग्यास प्रहार गरिएको छ।

कांग्रेस कार्यकर्ताले शिक्षक संघको धर्नामा ऐक्यबद्धता जनाउँदै नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने क्रममा सुरक्षाकर्मीसित झडप भएको थियो। झडपपछि उनीहरू सबैलाई बाहिर पठाइएको छ।

नगरपालिका कार्यालयभित्र रहेका कार्यकर्तालाई पनि प्रहरीले अश्रुग्याँस प्रहार गरी बाहिर पठाएको छ।

कांग्रेस कार्यकर्ताले सुरक्षाकर्मीको लाठी खोसेपछि झडप हुन पुगेको हो। सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार भएपछि उनीहरूले लाठी प्रहार गरेका थिए।

झडपपछि नगरपालिका कार्यालय तनावग्रस्त बनेको छ। नगरपालिका कार्यालयमा सुरक्षाकर्मी व्यापक रुपमा परिचालन गरिएका छन्। नगरपालिका कार्यालयका कामकाज अवरुद्ध हुन पुगेका छन्। नेपाल शिक्षक सम्बद्ध शिक्षकहरू एक महिनादेखि दरबन्दी मिलानको कार्य सच्याउनुपर्ने माग राख्दै धर्नामा बस्दै आएका थिए।

सम्बन्धित समाचार