म्याग्दी । दृश्यावलोकनका लागि उपयुक्तस्थल मानिने म्याग्दीको बेनी नगरपालिका ५ गाजनेमा निर्माणाधीन जगन्नाथ भ्यू–टावर अलपत्र बनेको छ । पुलाचौरको गाजनेमा रहेको केभहिलमा निर्माणाधीन अवस्थामा रहेको जगन्नाथ भ्यू–टावर अलपत्र भएको हो ।
निर्माण व्यवसायीको लापर्बाही र ढिलासुस्ती, स्थानीय बासिन्दाको बेवास्ता, सरोकारवाला निकायको ताकेता र अनुगमन नहुनु, कोरोना भाइरसको जोखिम तथा लामो समयको लकडाउनका कारणले भ्यू–टावर निर्माणमा ढिलाइ भएको हो । आर्थिक वर्ष २०७४र७५ देखि भ्यू–टावर निर्माण थालिए पनि अहिलेसम्म टावरले पूर्णता पाएको छैन ।
गएको आवसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको भ्यू–टावर निर्माणको झण्डै ८ प्रतिशत मात्रै काम बाँकी रहेको बेनी नगरपालिकाले जनाएको छ । निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीबाट समयमा नै भ्यू–टावर निर्माणको काम हुन नसकेको नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनियर अर्जुन थापाले बताउनुभयो ।
उहाँले निर्माण व्यवसायीको ढिलासुस्तीका कारणले गर्दा भ्यू–टावर निर्माणमा ढिलाइ भएको र अहिलेसम्म पनि निर्माणकार्यले पूर्णता पाउन नसकेको आरोप लगाउनुभयो।
अहिलेसम्म भएको कामको आधारमा नगरपालिकाबाट निर्माण व्यवसायीलाई भुक्तानी दिइएको भन्दै असिस्टेन्ट सब–इन्जिनियर थापाले भ्यू–टावरको रङ रोगन, प्रतीक्षालयको छाना छाउने र बस्ने बेन्च फिट गर्नेलगायत काम मात्रै बाँकी रहेको जानकारी दिनुभयो ।
निर्माण व्यवसायी रवि बानियाँले भने आफूले बेनी नगरपालिकाबाट भ्यू–टावर निर्माणको डिटेल स्टिमेट नपाएको, विनियोजित बजेट काटिदिएको र कोरोना भाइरस तथा लकडाउन जस्ता कारणले समयमै भ्यू–टावर निर्माणमा समस्या भएको बताउनुभयो । उहाँले टाढाबाट कामदारहरु ल्याएर भ्यू–टावर निर्माण गरे पनि नगरपालिकाबाट काम भइरहेको अवस्थामा बजेट काटिदिएपछि टावर निर्माणकार्य अवरुद्ध बनेको गुनासो गर्नुभयो ।
निर्माण सुरु गरेको झण्डै ५ वर्ष बितिसक्दा पनि भ्यू–टावर निर्माणको काम नसकिँदा त्यहाँ पुग्ने पर्यटकलाई समस्या हुने गरेको छ । भ्यू–टावरको माथिल्लो भागसम्मै चढेर हेर्दा हल्लिने हुँदा भ्यू–टावरमा दुर्घटनाको जोखिम समेत बढेको पर्यटकहरु बताउँछन् ।
जिल्लाको मङ्गला र रघुगङ्गा गाउँपालिकाले यसअघि नै भ्यू–टावर निर्माण गरि सञ्चालनमा ल्याएको भए पनि बेनी नगरपालिकाको पर्यटकीयस्थल केभहिलमा निर्माणाधीन भ्यू–टावरले लामो समयसम्म पूर्णता नपाउँदा स्थानीयवासी आक्रोशित बनेका छन् ।
प्रतिक्रिया