काठमाण्डौ । अलैंची निर्यात बढेको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैंचीको माग बढ्दै गएपछि ७४ प्रतिशतले निर्यात बढेको हो।
गएको आर्थिक वर्ष पाँच हजार १२ मेट्रिकटन अलैंची निर्यात भएको व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गएको आर्थिक वर्ष २०७७/०७८ मा आठ हजार आठ सय ५७ मेट्रिकटन अलैंची निर्यात भएको थियो । त्यसअघिको आर्थिक वर्ष २०७६र०७७ मा पाँच हजार १२ मेट्रिकटन निर्यात भएको थियो ।
अलैंची निर्यात बढेसँगै गएको आर्थिक वर्ष ७ अर्बभन्दा बढी रुपैयाँ भित्रिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब २ करोड २४ लाख ९२ हजार रुपैयाँ भित्रिएको केन्द्रले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा भने ४ अर्ब १ करोड ९२ लाख १४ हजार रुपैयाँ भित्रिएको छ । यस्तै आर्थिक वर्ष २०७५र०७६ मा पाँच हजार दुई सय ४० मेट्रिकटन निर्यात हुँदा ४ अर्ब २८ करोड ४१ लाख ९९ हजार रुपैयाँ भित्रिएको केन्द्रले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढ्दै गएकाले निर्यात बढेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पाकिस्तान, बंगलादेश, साउदी अरब र दुबईमा अलैंची निर्यातका लागि छलफल भइरहेको छ । भारतमा अलैंची उत्पादन हुने क्षेत्रमा अलैंची मासिन थालेपछि यो वर्ष भारतमा अलैंचीको माग बढी भएको व्यवसायीको भनाइ छ ।
उत्पादित अलैंची निर्यातको मुख्य बजार भारत हो । भारतसँगै चीन, यूएई, पाकिस्तान लगायतका देशमा पनि नेपाली अलैंची निर्यात हुने गर्दछ । नेपालबाट निर्यात भएको अलैंची भारतले प्याकेजिङ, ग्रेडिङ गरेर भुटान र बंगलादेशमा पठाउने गरेको पनि केन्द्रले जनाएको छ ।


प्रतिक्रिया