भोजपुरवासी भन्छन् : निवर्तमान मुख्यमन्त्रीले जिल्लामा विकास त गरेनन्‚ प्रदेशको नाम राखेको भए हुन्थ्यो


११ भाद्र २०७८, शुक्रबार


विराटनगर । पार्टी एकतालाई वाजबुत राख्न भन्दै शेरधन राईले प्रदेश १ को मुख्यमन्त्रीबाट साढे तीन वर्षमा पदबाट बिहीबार राजीनामा दिएका छन्। प्रदेश १ सरकारको स्थायित्वलाई सुनिश्चित गर्न, देश तथा प्रदेशमा अराजकता र अस्थिरता पैदा हुन नदिन भन्दै प्रदेशसभा संसदीय दलमा आफैंले हराएका भीम आचार्यलाई सत्ता सुम्पिँदै उनी सत्ताबाट बाहिरिएका छन्।

तर‚ यो अवधिमा प्रदेशको नाम समेत राख्न नसकेको भनी उनको आलोचना हुँदै आएको छ। यति मात्र होइन आफ्नै गृह जिल्लामा समेत विकास गर्न नसकेको भनी गृह जिल्लावासीबाट आलोचित भएका छन्।

निवर्तमान मुख्यमन्त्री राईको कार्यकाल ऐतिहासिक भए पनि उपलब्धिविहीन भएको उनीसँगै पराजित भएका नेपाली कांग्रेसका नेता गोविन्द कार्की टिप्पणी गर्छन्। ‘उहाँ प्रदेशको पहिलो मुख्यमन्त्री हुन्। धेरै कुरा गर्नु हुन्छ भन्नेमा विश्वास त थिएन। तर केही न केही गर्नु हुन्छ भन्ने थियो। प्रदेशको नामाकरण पनि गर्न सक्नुभएन‚’ कार्कीले भने, ‘प्रदेश मात्रै होइन। गृह जिल्ला भोजपुरले पहिलो मुख्यमन्त्री पाउनेबाहेक अरु केही पाउन सकेन।’

भौगोलिक हिसाबले विकट भोजपुर निवर्तमान मुख्यमन्त्री राईको निर्वाचन क्षेत्र हो। यस जिल्लाबाट उनी प्रतिनिधिसभा सदस्यमा समेत निर्वाचित भई मन्त्रीसमेत भइसकेका छन्। मुलुक संघीयतामा गएपछि भएको निर्वाचनमा राई प्रदेशसभा निर्वाचनमा सहभागी हुँदै मुख्यमन्त्री भएका थिए।

उनी मुख्यमन्त्री हुँदै गर्दा भोजपुरवासीले जति आशा गरेका थिए‚ त्यो आशा आशमै बित्यो। ‘जनताले आशा, अपेक्षा र भरोसासहित निर्वाचित गरेर पठाएका थिए। दुई तिहाईको बहुमतको सरकार हुँदा पनि उहाँले अपेक्षा अनुसारको काम गर्न सक्नुभएन‚’ थापाले टेलिफोन भने‚ ‘भोजपुरले चाहेको यातायात, सञ्चार, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता उहाँले बेवास्ता गर्नुभयो।’

थापाले सदरमुकाम पुग्न होस् या अन्य गाउँमा वर्षा लागेपछि हिलोका कारण यातायात ठप्प हुने बताए। पुरानै सरकारको समयमा भएका विकास निर्माणका कामलाई राईले आफूले गरेको भन्दै गर्व गर्ने ठाउँ भए पनि जनस्तरबाट हेर्दा कुनै नयाँ काम नभएको उनले दाबी गरे।

‘विकासको काम छाडौँ‚ प्रदेशको नामकारण समेत राख्न शेरधन राई चुक्नुभयो,’ कार्कीले भने, ‘उहाँकै क्षेत्रमा बिजुलीको पोल फालिएका छन्। तर अहिलेसम्म बिजुली बलेको छैन। भोजपुरवासी अझै पनि धनकुटाको झलमल बत्ती हेरेर निदाउनु पर्ने बाध्यता छ। टेलिफोन सम्पर्क गर्नु अझै पनि रुखमा चढेर टावर खोज्नुपर्ने बाध्यता छ।’

यता, भोजपुर हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले मुख्यमन्त्री भएपछि १४ वटा जिल्ला हेर्नुपर्ने भए पनि तुलनात्मकरुपमा निवर्तमान मुख्यमन्त्री राईले भोजपुरलाई प्राथमिकता दिएको बताउँछन्। उनले विनियोजित बजेट कार्यान्वनमा भने केही समस्या आएको बताए।

‘विकास निर्माणमा मान्छेले भएका कुरा नदेख्ने बाँकी कुरा देख्ने ट्रेन्ड पनि छ,’ उनले भने, ‘कतिपय आफ्नै जिल्लाको मुख्यमन्त्री पाएर पनि भने जस्तो काम भएन भन्ने खालका कुरा नउठ्ने होइन। तर दीर्घकालीन महत्त्वका गौरवका आयोजना बन्दैछन्। ६ महिना‚ एक वर्षमा नै विकास हुन्छ भन्ने होइन।’

उनले कर्मचारीको बेइमानीका कारण पनि कतिपय कामहरु ढिला सुस्ती हुने गरेको दाबी गरे। ‘केही कमी कमजोरी भएका छन्। सरकारको मात्रै दोष हुँदैन। काम गर्ने संयन्त्रहरुबीचको खाडल छ। यसमा ठूलो विकृति छ,’ उनी भन्छन्, ‘जसले कामको जिम्मा लिएको हुन्छ। उसले बकेइमानी गर्छन्। अन्ततः प्रश्न जनप्रतिनिधिहरुलाई उठ्ने गर्दछ।’

निवर्तमान मुख्यमन्त्री राईका समयमा केही काम भए पनि प्रदेशको नामाकरण गर्न नसकेकोमा गाउँपालिका अध्यक्ष राईको गुनासो छ। उनले भने‚ ‘कम्तीमा आफ्नो तीन वर्षे कार्यकालमा प्रदेशको नामाकरण गरेका भए हुने।’

उनको जस्तै गुनासो नेतादेखि साहित्यकारसम्मको छ। मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङ निवर्तमान मुख्यमन्त्री राईले प्रदेशको नामाकरण गर्ने नसकेकोमा खुसी छैनन्।

‘आज उहाँ मुख्यमन्त्रीबाट हट्दै गर्दा प्रदेशको नामाकरण समेत गर्न सक्नुभएन। बाधाहरू, अड्चनहरू धेरै थिए होलान्। तिनलाई प्रस्तुत गर्न पनि सक्नुभएन‚’ भोजपुरका मुकारुङले सामाजिक सञ्जालमा गुनासो लेखेका छन्, ‘यसो हुनु हुँदैन थियो। यसले दीर्घकालीन अर्थ राख्ने नै छ।’

यसअघि संघीय सरकारमा सञ्चारमन्त्री समेत भइसकेका निवर्तमान मुख्यमन्त्री राईले पदमा हुँदासम्म नभेटेको साहित्यकार मुकारुङ बताउँछन्। गृह जिल्लाकै क्याम्पस पढ्दाका साथी भए पनि सम्झिने काम नगरी राई मुख्यमन्त्रीबाट बिदा हुँदा खिन्नता महसुस भएको उनले बताए।

मुख्यमन्त्री पदबाट बिदा हुँदै गर्दा निवर्तमान मुख्यमन्त्री राईले सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका छन्। जहाँ उनले आफ्नो कामको सूचीभन्दा पनि पार्टी फुट्न नदिन राजीनामा दिएको प्रष्टीकरण दिएका छन्।

‘संघीयताको पहिलो अनुभव, अभ्यास र प्रयोगका सुरुवाती दिनहरु, वर्षहरु सजिला थिएनन्।तर हामी दृढ संकल्प र अठोटसहित महत्वपूर्ण उपलब्धि र सफलताहरुका साथ अगाडि बढ्यौ‚’ निवर्तमान मुख्यमन्त्री राईले फेसबुकमा लेखेका छन्, ‘मलाई गर्व छ। धेरै गर्न सकिनँ होला तर मैले गलत गरेको छैन।’

 

सम्बन्धित समाचार