गाउँपालिका कार्यालयमै पसेर चोरी प्रयास


११ भाद्र २०७८, शुक्रबार


पर्वत । पर्वतको पैयुँ गाउँपालिकाको कार्यालयमा चोर पसेर चोरी प्रयास गरेका छन्।

पछिल्लो केही समययता जिल्लाका विभिन्न स्थानीय तहका गाउँ–गाउँमा चोरहरूको बिगबिगी बढिरहेको थियो। तर विस्तारै चोरहरू हराउँदै गएको भए पनि पैयुँ गाउँपालिकामा भने गाउँपालिकाको कार्यालयभित्रै छिरेर चोरीको प्रयास भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेका अनुसार गत बुधबार राति करिब दुई बजेको गाउँपालिकाको कार्यालयमा चोर पसेको भए पनि तत्कालै कार्यालयका सुरक्षा गार्डले थाहा पाएका कारण आर्थिक तथा भौतिक क्षति हुन नपाएको हो।

‘जिल्लाका विभिन्न ठाउँमा चोरीका घटनाहरू भइरहेको त सुनेको हो। हामीकहाँ पनि पछिल्लो पटक चोरीका घट्नामा वृद्धि भएको छ। गत बुधबार राति दुई बजेतिर होला गाउँपालिकाको कार्यालयमा नै चोर छिरे’ उनले भने, ‘अफिसको सेक्युरिटी पर्सनले थाहा पाइहालेका कारण उनीहरू तत्कालै भगे। आर्थिक र भौतिक क्षति हुनबाट जोगाएको छ। यसबाट मुक्ति पाउन सबैलाई सतर्क बस्न अनुरोध गर्दछु।’

त्यसअघि गत भदौ ६ मा गाउँपालिकाको कार्यालय नजिकै रहेको जनसेवी जोगिएको सहकारी संस्थामा तोडफोड गरे ४९ हजार पाँच सय रुपैयाँ चोरी भएको सहकारीका अध्यक्ष डम्बर बहादुर प्रधानले बताए। चोरले पैयुँ गाउँपालिका–२ मा रहेको त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सटर तोडेर आठ हजार रुपैयाँ चोरी गरेको सहकारीका व्यवस्थापकले बताएका छन्।

गाउँपालिकाको केन्द्र तथा इलाका प्रहरी कार्यालय रहेको क्षेत्रको वरिपरि नै सुरक्षा चुनौती बढेपछि त्यस क्षेत्रमा सादा तथा पोसाकमा प्रहरी परिचालन गरेर चोरहरूको खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए।

 

सम्बन्धित समाचार