अर्घाखाँचीमा माइक्रो बस दुर्घटना : एक जनाको ज्यान गयो, आठ जना घाइते



अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका(३ ठाडामा माइक्रो बस दुर्घटना हुँदा एक जना ज्यान गएको छ । आठ जना घाइते भएका छन् ।

काठमाण्डौबाट अर्घाखाँचीको सन्धिखर्कका लागि छुटेको बा ३ ख ८६३९ नम्बरको माइक्रो बस आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा भूमिकास्थान गाउँपालिका ९ ढिकुराका सञ्जय विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले जानकारी दिनुभयो । माइक्रो बस सडकबाट झण्डै ४ सय मिटर तल खसेको उहाँले बताउनु भयो ।

घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते ६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिनुभयो ।

दुर्घटनाका विषयमा बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

सम्बन्धित समाचार