पर्वत । अब त वर्षा रोकियो होला भन्ने लागेको थियो। ७र८ दिनसम्म लगातार भएको वर्षा रोकिएको थियो। दिनभर घाम लागेको बेलामा रातिमा पहिरो आएर ११ जनाको ज्यान लेला भन्ने कल्पना गर्ने त कुरै थिएन।
एकाएक मौसममा परिवर्तन आयो। पानी एकोहोरिएर खसिरह्यो। गत भदौ १७ गते राति करिब पौने १० बजे विद्युत र इन्टरनेट अवरुद्ध भयो। बादलले बोकेको सबै पानी पर्वतमा नै पोखे झैँ गरी मध्यरातमा डर लाग्दो वर्षा भयो।
रातिको १२ बजेको थियो। बजारका घरका छतमा टर्च लाइट बलेका देखिन्थे। घरका छतमा पानीको उच्च चापका कारण धेरै घरभित्रै पानी पसेको थियो। वर्षा त बिहानसम्म नै निरन्तर थियो। मोबाइल नेटवर्क समेत अवरुद्ध भइसकेको रहेछ। बेलुकादेखि नै विद्युत् नहुँदा धेरैका मोबाइल अफ भए। इन्टरनेट नहुँदा कहीँ कतै सम्पर्क हुने अवस्था थिएन। उज्यालो हुन पाउँदै दुर्लुङ, पकुवा र अम्बोटमा पहिरोमा परी केहीको मृत्यु भएको हल्ला फैलियो।
तत्कालै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीलाई सम्पर्क गर्दा फोन लागेन। जसोतसो एक पटक छुस्स सम्पर्क भयो। तर‚ दोहोरो संवाद राम्रो हुन सकेन।
डिएसपी बुढाथोकीले ‘म दुर्लुङमा छु, तीन जना भेटियो अरू दुई बेपत्ता छन्।’ सञ्चार सेवा अवरुद्ध हुँदा केही कुरा बुझ्न मान्छे भएकै ठाउँमा पुग्नुपर्ने बाध्यताकाबीच सूचना मिल्यो। छ जनाको मृत्यु भयो दुई जना बेपत्ता भन्ने थाहा भयो।
भदौ १८ को दिउँसोमा एक पटक जसोतसो प्रहरीसँग सम्पर्क हुँदा प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले त्यो बेलासम्म चार ठाउँका पहिरोमा ११ जनाको मृत्यु भएको र शवहरू पर्वत अस्पतालमा ल्याएर राख्ने क्रम चलिरहेको बताए।
चार घटनामा ११ को मृत्यु
भदौ १७ गते राति करिब दुई बजेको समयमा कुश्मा नगरपालिका–३ दुर्लुङमा एकै घरमा रहेको पाँच जनाको मृत्यु भयो। घरमाथिबाट आएको पहिरो घर पुर्दा ७० वर्षीया कौशिला पौडेल, ३५ वर्षीया भगवती पौडेल, १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनीता पौडेल र ९ वर्षीय विनोद पौडेलको मृत्यु भयो।
रोजगारीका लागि कतारमा रहेका भगवतीका श्रीमान् माधव त जोगिए तर परिवारका पाँच सदस्यलाई एकै पटक बिदाइ गर्नुको पीडा त शब्दमा झल्किँदैन। आमा, श्रीमती र छोराछोरीको अन्तिमपटक मुख हेर्न कतारबाट काठमाडौँ र त्यहाँबाट हेलिकोप्टरमा पर्वत आइपुगेका माधवलाई देख्दा अस्पतालदेखि घाटसम्म सबै रोए।
माधवका परिवारले ज्यान गुमाएकै गाउँको काफलचौरस्थित ढकालबारी टोलमा गत वर्ष पनि पहिरोले घर पुर्दा नौ जनाको मृत्यू भएको थियो।
कुश्मा नगरपालिका ११ पकुवाको पनि पीडा उस्तै छ। ४० वर्षीया मायाकुमारी पौडेल, उनका तीन वर्षीय छोरा प्रयूष र सासू ७० वर्षीया डल्ली पौडेल पाध्याको मृत्यु भयो। मायाका श्रीमान् हरि तीन छोरीसहित पोखरामा बसिरहेका थिए।
गाउँकै विद्यालयमा कार्यरत माया विद्यालय खुल्ने सुनेर छोरासहित घर फर्किएकी थिइन्। अब परिवारमा बुढेसकालका बाबु र तीन छोरी जीवित रहे। पोस्टमार्टमको लागि शव राखिएका ठाउँमा रहेका उनीहरूको पीडा पनि उस्तै थियो।
पकुवाकै अर्को ठाउँमा आमा र छोराको मृत्यु भयो। सुतिरहेको बेलामा घर माथिबाट आएको पहिरोले पुर्दा ३५ वर्षीया दुर्गा पौडेल र उनका सात वर्षीय छोरा गणेशको मृत्यु भयो।
मोदी गाउँपालिका–५ अम्बोटकी फूलमाया थापा दोहोरी गाउन सिपालु थिइन्। ५० वर्षीया उनलाई पनि पहिरोले छोडेन।
तेस्रो दिनमा सञ्चाचालन भयो विद्युत र इन्टरनेट
जिल्लामा यतिविधि मानवीय क्षति भएको खबर जिल्लावासी थोरैले मात्रै थाहा पाएका थिए। अरे अरेको हल्लामा मृत्युको गाइँगुइँ सुनेका उनीहरूले घटना भएको तेस्रो दिनमा मात्रै सबै कुराहरू थाहा पाए।
भदौ १७ गते रातिबाट बन्द भएको विद्युत र इन्टरनेट भदौ १९ गते साँझदेखि मात्र सञ्चाचालन भयो। विद्युत नहुँदा बन्द अवस्थामा रहेका रेडियो स्टेसनले प्रसारण सुरु गरे। सामाजिक सञ्जालहरुमा पहिरोका तस्बिर र खबरहरू लेखिन थालिए।


प्रतिक्रिया