झापा । झापामा एक साता नबित्दै चार महिलाको शव फेला परेको छ। झापा गाउँपालिकाका दुई फरक ठाउँमा शुक्रबार दुई महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। यसअघि यही भदौ २० गते पनि झापाका छुट्टाछुट्टै ठाउँमा दुई महिलाको शव फेला परेको थियो।
शुक्रबार झापा १ सालमारास्थित सानो माई खोलाको किनारमा सडेको अवस्थामा एक महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ। खोलाको पानीमा डुबेको अवस्थामा महिलाको नग्न शव फेला परेको हो। शव खोलाको पानीमा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शवको पहिचान खुलेको छैन।
शव पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर लगिएको छ। घटना अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी शुक्रबारै झापा गाउँपालिका ५ सन्थालमा पनि एक महिलाको शव फेला परेको छ। स्थानीय ५५ वर्षीया मञ्जु टुडुको शव सिकुवामा फेला परेको प्रहरीले जनाएको छ। उनको मृत्युको कारण खुलेको छैन।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यसअघि भदौ २० मा स्थानीय कन्काइ र देउनिया खोलामा दुई महिलाको शव फेला परेको थियो। ती शवको अझै सनाखत हुन सकेको छैन।


प्रतिक्रिया