भरुवा बन्दुकसहित मिक्लाजुङका जगतबहादुर लिम्बू पक्राउ


१ आश्विन २०७८, शुक्रबार


विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका– ५ का ४३ वर्षीय जगतबहादुर लिम्बूलाई प्रहरीले दुईवटा भरुवा बन्दुकसहित पक्राउ गरेको छ । घरमा लुकाईछिपाई राखेको अवस्थामा दुई नाल बन्दुकसहित लिम्बूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले बिहीबार साँझतिर पक्राउ गरेको हो । घरमा छापा मार्दा भरुवा बन्दुक फेला परेपछि कारबाहीका लागि लिम्बूलाई नियन्त्रणमा लिइएको जानकारी प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले दिए ।

प्रहरीले वन्यजन्तुको चोरी सिकारीका लागि भरुवा बन्दुक राखिएको हुनसक्ने आशंका गरेको छ । लिम्बूविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार