काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ सालको जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए। २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेका आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए।
वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन वि।सं। २०५४ असोज २ गते भएको हो। काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले वि.सं.१९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए।
राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो। वि.सं. २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोशिला तन्नेरी उनी प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए। जेलबाट भागेर भारतमा पुगी अर्का नेता बीपी कोइरालासँग उनले राजनीतिक सम्बन्ध विकसित गरे। केही सहयोगीका साथ वि।सं। २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि उनको उल्लेखनीय भूमिका छ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरे। देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहे। उनी नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील रहे।


प्रतिक्रिया