प्रेमीलाई ६० हजार दिएर श्रीमतीले आफ्नै श्रीमानको हत्या गराएको खुलासा


५ आश्विन २०७८, मंगलबार


सिरहा । सिरहाको गोलबजार नगरपालिका ४ निपनिया कुटी टोलका हरिहरदेवी महराले प्रेमीलाई ऋण गरी ६० हजार रुपैयाँ दिएर आफ्नै श्रीमान दुखरन मोचीको हत्या गराएको खुलेको छ। गत भदौ १८ गते निपनियाका ३९ वर्षीय मोचीको शव भारतको बिहार राज्य जयनगरस्थित वरही गाउँको नहरमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा फेला परेको थियो।

उक्त हत्या नीजकै श्रीमती ३८ वर्षीया हरिहरदेवीको योजनामा भएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ। हत्या आरोपमा हरिहरदेवीलाई घरबाटै प्रहरीले आइतबार पक्राउ गरी सोमबार साँझ सार्वजनिक गरेको छ। भारतीय प्रहरीले नेपाल प्रहरीलाई घटनास्थलको सम्पूर्ण विवरण पठाएको थियो।

घटनामा संलग्नमध्येका हरिहरदेवीको प्रेमी २६ वर्षीय मुकेश यादवलाई भारतीय प्रहरीले पक्राउ गरी भारतकै जयनगर थानाबाट थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले बताए। पक्राउ परेका आरोपित यादव भारतको जिल्ला मधुबनी देउधा गाउँका हुन्।

अवैध प्रेम सम्बन्ध र घरेलु हिंसा

हत्याको कारणमा अवैध प्रेम सम्बन्ध र घरेलु हिंसा रहेको प्रहरीको अनुसन्धानमा देखिएको छ। मृतक मोचीको श्रीमती र ४ छोराछोरी छन्। उनी १० वर्ष पहिला वैदेशिक रोजगारीको सिलसिलामा कतारबाट फर्केर गाउँमा फर्निचर र किराना पसल सञ्चालन गरेर बस्दै आएको थियो।

मृतक मोचीले विदेशमा रहँदा कमाएर घरमा पठाएको रुपैयाँको हिसाब श्रीमतीसँग बारम्बार मागे। खर्चको हिसाब माग्दा खटपट हुँदा मापसे गरेर आफूलाई मृतक मोचीले पटक पटक कुटपिट गर्दै आइरहेको प्रहरीलाई हरिहरदेवीले सुनाएकी छिन्। झगडा हुँदा घरमा रहेको किराना पसलको सामान फालिदिने, पैसा चोरी गर्ने तथा पसलमा आगोसमेत लगाइदिने मृतक मोचीले गर्दै आइरहेको हरिहरदेवीले प्रहरीलाई बताएकी छन्।

प्रहरीका अनुसार श्रीमानले दिँदै आएको बारम्बारको यातनाको कारण उनी दुई पटक आत्महत्या गर्ने प्रयास गरेकी थिइन्। तर, छोराछोरीको भविष्य सम्झेर आत्महत्या नगरेको हरिहरदेवीको भनाई छ। आफु मर्नुभन्दा श्रीमानलाई नै मारेर समस्या समाधान हुने सोच बनाइन्।

सम्बन्धित समाचार