काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इमोबाट पार्सल पठाइ दिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाले भारतको दार्जिलिङका ३३ वर्षिय सन्दीप क्षेत्रीलाई पक्राउ गरेको हो। उनले फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इमो प्रयोगकर्ता महिलालाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आए पश्चात कुराकानी हुने क्रममा आफूलाई युकेको नागरिक बताई कुराकानी गर्दै आएका थिए।
त्यसपछि विश्वास कायम गरी प्रेमसमेत गर्ने बताएर क्षेत्रीले विभिन्न प्रकारका उपहारहरू पार्सल पठाएको बताउँदै आएका थिए। विभिन्न कागजातसहित पार्सल ट्रयाकिङ गर्ने नम्बरसमेत उपलब्ध गराई पीडितलाई विश्वासमा पारी ५ लाख १० हजार रुपैयाँ ठगी गरेको पीडितको उजुरीको आधारमा अनुसन्धान गर्दा क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय झापासँगको समन्वयमा पक्राउ गरेको महाशाखाले जनाएको छ।
क्षेत्री प्रेन्टि क्रोस्टल ९पानीटंकी सिलगुढी० चर्चका पादरी रहेको र चर्चको विभिन्न धार्मिक कार्यक्रममा भेट भएका महिलाहरूलाई क्रिस्चियन धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरेको रकम आफ्नो खातामा झिकाउन नमिल्ने भएको भनी विश्वासमा पारी खाता खोल्न लगाई आफूले ठगी गरेको रकम निज महिलाहरूको खातामा जम्मा गरी महिलाहरु मार्फत भुक्तानी लिने गरेको खुल्न आएको महाशाखाले बताएको छ।
महाशाखा अनुसार उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया