संरक्षण नहुँदा नासिन थाले म्याग्दीका प्राचीन सम्पदा



म्याग्दी । संरक्षण र प्रचारप्रसारको अभावमा म्याग्दीका रहेका तीन सय वर्षभन्दा पुराना देवल र प्राचीन सम्पदा नास हुँदै गएका छन्। सदरमुकाम बेनीलगायत म्याग्दीका ६ वटै स्थानीय तहमा रहेका धार्मिक तथा ऐतिहासिक महत्त्वका शिखरशैलीका देवल र प्राचीन सम्पदाको संरक्षण नहुँदा प्रचारप्रसार नहुँदा नासिँदै गएका हुन्।

सदरमुकाम बेनीबजारमा रहेका तीनवटा ३०० वर्षभन्दा पुराना सम्पदाबारे नयाँ पुस्ता अनभिज्ञ रहेको स्थानीय प्रकाश श्रेष्ठले बताउँछन्। कोत मन्दिर, बेनी शिवालय मन्दिर र बालमुक्तेश्वर महादेवको देवल ३०० वर्षभन्दा पुराना हुन्। यी धरोधरहरुको संरक्षण र प्रचारप्रसार हुन सकेको छैन।

वि।सं। १७५४ मा तत्कालीन पर्वते राजा बलेबम मल्लले निर्माण गर्न लगाएका यी देवलहरु पाञ्चायन शैलीका छन्। इँटाबाट निर्मित यी मन्दिरहरुमा शिवलिङ्ग, नारायण, गणेश र भगवतीका मुर्तिहरु रहेका छन्।

बेनी बजारको सबैभन्दा पुरानो मानिएको बालमुक्तेश्वर मन्दिरको अस्तित्व पनि नामेट हुँदै गएको स्थानीय बृद्ध अविरकुमार श्रेष्ठले बताए। ‘बजार विस्तार हुने क्रमसँगै घर निर्माण हुने क्रम बढेपछि बालमुक्तेश्वर मन्दिर छोपिन पुग्यो,’ श्रेष्ठले भने, ‘बेनीको सभ्यताको सबैभन्दा पुरानो मन्दिरबारे अहिले धेरैजसो व्यक्ति अनभिज्ञ छन्।’

उनका अनुसार २०३७ सालमा बालमुक्तेश्वर मन्दिरअगाडि लक्ष्मीनारायण मन्दिर निर्माण गरिएपछि सो मन्दिरको महत्व पनि छोपिँदै गएको हो। २०३४र३५ सालसम्म मन्दिरमा रहेको ताम्रपत्र अहिले हराएको छ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका–६ मा कालीगण्डकी नदी र घारखोलाको दोभानमा रहेको जलेश्वर शिवालय मन्दिर पनि अहिले अस्तित्वविहीन बनेको छ। पाञ्चायन शैलीमा निर्माण गरिएको उक्त मन्दिर २०६३/६४ सालमा बेनी–जोमसोम सडक निर्माणका क्रममा सेनाले सोही मन्दिरसँग जोडेर दुर्गा भगवतीको मन्दिर निर्माण गरिदिए पछि लजेश्वर शिवालयको मन्दिर ओझेलमा परेको हो।

ताकमकोत, ज्यामरुककोट, घतान, पुलाचौर, राखु भगवतीलगायतका स्थानमा रहेका प्राचीन देवल र सम्पदाहरु नासिँदै गएका छन्। यस्ता प्राचीन सम्पदाहरु नासिँदै गए पनि स्थानीय तहले कुनै चासो नदेखाएको स्थानीयवासीहरुको भनाइ रहेको छ।

सम्बन्धित समाचार