विराटनगर : अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका अपराधिक पृष्ठभूमिका गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ ल्याउन नदिन विराटनगरमा दिनहुँ प्रदर्शन भइरहेको छ ।
३ दिनदेखि भइरहेको प्रदर्शन बुधबार पनि जारी छ। कारागारभित्र रहेका कैदीबन्दीका आफन्त भेला भएर विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङअगाडि प्रदर्शन गरिरहेका छन् । स्थिति नियन्त्रण बाहिर जान नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।
गिरीलाई मोरङ ल्याउँदा कारागारभित्रका कैदीबन्दी असुरक्षित हुने भन्दै आफन्तले निरन्तर प्रदर्शन गरिरहेका हुन् । उनीहरुले गिरीलाई मोरङ पठाउने निर्णय तत्काल बदर गरिदिनुपर्ने माग पनि राखेका छन् ।
प्रदर्शन र नाराबाजीका कारण कारागार बाहिरको अवस्था अस्तव्यस्त र तनावपूर्ण बनिरहेको छ । कारागार व्यवस्थापन विभागले डिल्ली बजार कारागारबाट गिरीलाई भदौ १७ गते मोरङ सरुवा गरेको थियो । उनीसँगै अरु ३ जनालाई मोरङ सरुवा गरिएको हो। मोरङ कारागारको चौकीदार रहेका उनलाई साढे ३ वर्षअघि स्थानान्तरण गरेर डिल्ली बजार लगिएको थियो ।
कैदीबन्दीसँग महिनामारी असुल्ने, कुटपिट गर्ने, यातना दिने, सजाय भुक्तान गरिरहेकालाई उपभोग्य वस्तु महँगो मूल्यमा बिक्री गर्ने, टेलिफोनमा महँगो शुल्क लिने र उद्योगी व्यवसायीसँग कारागारभित्रैबाट फिरौती असुलीको धन्दा चलाउने गरेको पाइएपछि उनलाई २०७४ साल चैत २३ गते डिल्ली बजार स्थानान्तरण गरिएको हो । उनका ठाउँमा कर्तव्य ज्यान मुद्दाका कैदी नवीन राईलाई चौकीदार बनाइयो ।
राईलाई गत सोमबारसाँझ झुम्का कारागार स्थानान्तरण गरिएको छ । राईका ठाउँमा किरण गुरुङलाई कामचलाउ चौकीदारको जिम्मा दिइएको छ । मोरङ कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले कारागारभित्रको काम नरोकियोस भनेर गुरुङलाई कामचलाउ चौकीदारको जिम्मेवारी दिइएको बताए । उनका अनुसार अर्को व्यवस्था नभएसम्म गुरुङले चौकीदारको भूमिका निर्वाह गर्ने छन् ।
राईलाई झुम्का लगेर गिरीलाई चौकीदार बनाउन पुनः मोरङ ल्याउन खोजिएको थियो । मोरङ रहँदा गिरीकै सिको गरेका राईले पनि कारागारभित्र आतंक खडा गर्दै कैदीबन्दीमाथि आर्थिक शोषण गरेर अकूत सम्पत्ति आर्जन गरिरहेको पाइएको कारागार प्रशासनले जनाएको छ ।
कारागार स्रोतका अनुसार कारागारभित्र यातना दिने, कुटपिट गर्ने, अवैध असुलीको धन्दा चलाउने, आफन्तका नाममा जग्गा जमिन जोड्ने लगायतका हर्कत राईले गरेका थिए । राईको समूहले दिएको यातनाकै कारण धेरै कैदीबन्दीको मृत्युसमेत भइसकेको बताइन्छ । भदौमा मात्रै ४ जना कैदीबन्दीको मृत्यु भयो । सिंगो कारागार नियन्त्रणमा लिएर राईको समूहले मच्चाएको आतंकबाट आजित बनेका कैदीबन्दी पुनः गिरी आउने भएपछि थप तनावमा छन् ।
उनीहरुले असुरक्षित महसुस गरिरहेका छन् । त्यही भएकाले गिरीलाई मोरङ ल्याउन नदिन कैदीबन्दीका आफन्तले दैनिक प्रदर्शन र नाराबाजी गरिरहेका हुन् । ‘अपराध गरेरै जेल पुगेका गिरी कारागारभित्र पनि अपराधिक गतिविधी गर्छन् । दैनिक कैदीबन्दीलाई कुटपिट गर्छन् र यातना दिन्छन्,’एक कैदीका आफन्तले भने, ‘मागेजति पैसा बुझाउन नसक्नेको हुर्मत लिइन्छ । कैदीको ज्यान असुरक्षित हुने भएकाले गिरी आउन हुँदैनभन्ने हाम्रो माग हो ।’ माग पूरा नभए आन्दोलन थप चर्काएर लगिने उनले बताए ।
उनका अनुसार राईको समूहको हर्कतबाट प्रताडित बनेका बेला अर्का गुन्डा नाइके ल्याएर कैदीबन्दीलाई असुरक्षित बनाउने प्रयास गरिएको हो । गिरीलाई कारागारमा हुँदा साप्ताहिक रूपमा ठूलो रकम बुझाउनुपर्ने उनको भनाइ छ । उनका अनुसार गिरीको मोरङबाट सरुवा भएपछि चौकीदारको जिम्मेवारी पाएका राईको हर्कतले पनि सीमा नाघेको थियो ।
चौकीदारका लागि मोरङ कारागार आम्दानीको राम्रो स्रोत मानिन्छ । कारागार भित्रको टेलिफोन, पसल र खानाबाट मात्रै चौकीदारले दैनिक लाखौँ रकम कमाउने गरेको बताइन्छ । अवैध कमाई सबैलाई बाँड्ने गरेपछि चौकीदारका सवालमा सरकारी पक्षले बोल्न नसक्ने गुनासो कैदीबन्दीको छ ।
गिरीको सरुवा स्थगन
यसैबीच विराटनगर महानगरपालिका– ११ घर भएका गिरीलाई पुनः मोरङ ल्याउने सरकारी निर्णयको चौतर्फी विरोध भइरहेको छ । गिरीको सरुवा रोक्न सरकारलाई सबैतिरबाट दबाब बढेको छ ।
विरोधकै कारण गिरीको सरुवा तत्कालका लागि स्थगन गरिएको छ । गिरीलाई मोरङ पठाउने निर्णय तत्काल कार्यान्वयन नहुने कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले बताए । ‘तत्काल गिरीलाई मोरङ नपठाइने भएको छ,’ उनले भने, ‘यस विषयमा थप निर्णय पछि हुने छ ।’
कांग्रेस आवद्ध गिरी कांग्रेस नेताकै संरक्षणमा अपराध गरिरहेका गुन्डा नाइके हुन् । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि उनलाई मोरङ ल्याउने निर्णय हुनुले त्यसको थप पुष्टि हुन्छ ।
केपी ओली शर्माको नेतृत्वमा सरकार हुँदासमेत मोरङ ल्याउन लविङ गरिरहे पनि कांग्रेस नेताहरु सफल हुन सकेनन् । देउवा नेतृत्वको सरकारमा बालकृष्ण खाँड गृहमन्त्री बनेपछि कानुनी व्यवस्था, अभ्यास र परम्परा विपरीत गिरीलाई पुनः मोरङ पठाउने निर्णय भएको हो ।
गिरीसँगै अपहरण मुद्दामै कैद भुक्तान गरिरहेका राजु श्रेष्ठ, असित सैँवु र वन मुद्दाका कैदी मनोज कार्कीको पनि एकै पटक विराटनगरस्थित मोरङ कारागार सरुवा गरिएको छ । ‘आम्दानीको राम्रो स्रोत मानिने मोरङ कारागारमा चौकीदार बनाउन ठूलो रकमको चलखेल गरेर पुनः गिरीलाई मोरङ कारागार पठाउने निर्णय भएको हो,’ गृह स्रोतले भन्यो । मोरङ कारागारमा २ सय ५० पुरुष र ५० महिला गरेर ३ सय कैदीबन्दीको क्षमता छ । कारागारमा अहिले एक हजारभन्दा बढी कैदीबन्दी रहेको निमित्त जेलर पोखरेलले बताए ।
प्रतिक्रिया