हिरासतभित्र तीन जनाको मृत्यु : छानबिन गर्न समिति गठन


१ कार्तिक २०७८, सोमबार


काठमाडौं । सरकारले हिरासतभित्र तीन जनाको मृत्यु सम्बन्धमा छानबिन गर्न एक समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन गरिएको हो।

समितिलाई घटनाको छानबिन गरी सत्य तथ्य पत्ता लगाउन र भविष्यमा त्यस्ता घटना घटन नदिन हिरासत तथा कारागारमा व्यवस्थापनमा गर्नु पर्ने सुधारहरुका सम्बन्धमा सुझाव पेश गर्ने कार्य अधिकार दिइएको छ।

असोज २४ गते सुनसरीको जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको एक व्यक्ति, असोज २५ गते कैलालीको टिकापुर इलाका प्रहरी कार्यालयको हिरासतमा रहेको एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका थिए। यस्तै, असोज २६ गते जिल्ला कारागार पर्वतमा रहेका एक बन्दीले झुण्डिएर आत्महत्या गरेका थिए।

गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस मन्त्रालयका सहसचिव श्री थानेश्वर गौतमको संयोजकत्वमा छानबिन गरी सत्य तथ्य पत्ता लगाउन र भविष्यमा त्यस्ता घटना घटन नदिन हिरासत तथा कारागारमा व्यवस्थापनमा गर्नु पर्ने सुधारहरुका सम्बन्धमा सुझाव पेश गर्न यस मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा एक छानबिन समिति गठन गरिएको व्यहोरा जानकारी गराइन्छ।’

यस्तै, सरकारले जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको छ। गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवन रक्षा गर्नु सरकारको कर्तव्य रहेको बताए। सुनसरीको मोहम्मद हकीम साहको बन्दी गृहमा मृत्यु भएको थियो।

सम्बन्धित समाचार