मनसुन सकिएको हप्तापछि बङ्गालको खाडी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण परेको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट मुलुकका २६ जिल्ला प्रभावित भएको छ। ती जिल्लाले भौतिक तथा मानवीय क्षतिसमेत बेहोरेको छ।
सात प्रदशेमध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ ले मानवीय क्षति बेहोरेको छ। त्यसपछि सुदूरपश्चिम प्रदेशमा मानवीय क्षति भएको छ। यसपालि नेपालमा पानी पार्ने प्रणालीको संयुक्त प्रभाव असोज ३१ बाट सुरु भएको थियो। सो प्रणाली कात्तिक ३ सम्म रह्यो। त्यसको छिट्फुट प्रभाव अहिले पनि कायमै रहँदा मौसम बदलीकै क्रममा छ।
पहिलो दुई दिन सुदूरपश्चिम प्रदेशमा असर गरेको थियो भने त्यसको अर्को दुई दिन प्रदेश नं १ लाई प्रभावित बनाएको थियो। प्रदेश नम्बर २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा भने न्यून क्षति भएको छ। ती प्रदेशका एकाध जिल्लाले मात्रै क्षति बेहोर्नुपर्यो।
गृह मन्त्रालयबाट आइतबार प्राप्त पछिल्लो तथ्याङ्कमा ती जिल्लामा कूल ११७ जनाले ज्यान गुमाएको पुष्टि भएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले बताइन्। यसअघि १११ जना मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। पछिल्लो चौबिस घण्टामा बेपत्ता भएकामध्ये पाँचको शव फेला परेको हो। अझै ३२ जना हराइरहेका छन्। मृत्यु हुनेमा ५७ पुरुष, ३५ महिला र २५ बालबालिका छन्। बेपत्ता हुनेमा १३ पुरुष, सात महिला र १२ बालबालिका छन्।
कूल ४४ जना घाइते भएका र उनीहरूमध्ये कतिपय उपचारपछि घर फर्किएका छन् भने केहीको उपचार जारी छ। कूल ३० घर आंशिक र ११८ घर पूर्ण क्षति भएको गृह मन्त्रालयले जनाएको छ। जलवायु परिवर्तन विज्ञ डा ङमीन्द्र दाहाल बेमौसममा यति ठूलो वर्षा हुनु जलवायु परिवर्तनको असर भएको बताउँछन्।
प्राप्त विवरणअनुसार मुलुकका विभिन्न ठूला आठ राष्ट्रिय राजमार्गमा क्षति पुर्याएकामा अझै ६ वटा सञ्चालनमा आउन सकिरहेको छैन। सडकको भौतिक पूर्वाधारमा मात्रै एक अर्ब पाँच करोड क्षति भएको प्रारम्भिक विवरण छ। धानबाली तथा अन्य भौतिक क्षतिको विषयमा विवरण सङ्कलन जारी रहेको गृह मन्त्रालयले जनाएको छ। सरकारले यसअघि नै घाइतेको निःशुल्क उपचार गर्ने र मानवीय क्षति बेहोरेका परिवारलाई राहत दिने घोषणा गरिसकेको छ।
प्रतिक्रिया