हत्यारालाई जन्मकैद


११ कार्तिक २०७८, बिहिबार


सल्यान । जिल्लाको त्रिवेणी गाउँपालिका १ तल्लो काभ्राकी १६ वर्षीया कविता बोहराको हत्या गर्ने किशोरलाई सल्यान जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। बिहीबार न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले बोहराका हत्यारालाई जन्मकैदको फैसला सुनाएको हो।

कविताकी दिदीको छोरा नाता पर्ने १६ वर्षीय किशोरले कवितालाई एकतर्फी प्रेम गरी पटक पटक प्रेम प्रस्ताव गर्दा उनले कुनै चासो नदिएपछि हत्या गरेको बयानका आधारमा जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत सल्यानले जनाएको छ।

मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम जन्मकैद ठहर गरिएको अदालतका स्रेस्तेदार हेमन्त ज्ञवालीले बताए। हत्या गर्ने किशोर भएकाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३६ (३) बमोजिम आधा कैद छुट गरिएको उनको भनाइ छ।

उनलाई १२ वर्ष ६ महिना कैद हुने ज्ञवालीले बताए। साथै प्रतिवादीबाट मृतकको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि फैसला भएको छ।

२०७६ साल फागुन २ गते राति १२ देखि १ बजेको बीचमा कविताले गोठ नजिकको भकारोको डिलमा मोबाइलमा फोन गर्दै गरेको अवस्थामा १६ वर्षीय किशोरले खुकुरी प्रहार गरी हत्या गरेका थिए।

सम्बन्धित समाचार