खोटाङ । प्रसव व्यथासम्बन्धी समस्या देखिएका खोटाङका तीन गर्भवतीको एकै दिन राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट खर्च बेहोर्ने गरी उद्धार गरिएको छ ।
प्रसव व्यथाले स्वास्थ्यमा गम्भीर समस्या देखिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलकी २३ वर्षीया दीपा आचार्य, दिक्तेलकै २४ वर्षीया मेनुका खड्का र साकेला गाउँपालिका ५ मात्तिमकी २४ वर्षीया सुनिता राईलाई आज सोमवार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हेलिकप्टरबाट उद्धार गरेर काठमाण्डौ लगिएको हो ।
सामान्यतः ४० हप्तामा सुत्केरी व्याथा लाग्नुपर्नेमा दीपालाई ३५ हप्तामै सुत्केरी व्यथा लागेकाले अन्यत्र रेफर गरिएको जिल्ला अस्पताल खोटाङका डा। नितु लामाले बताउनुभयो । यस्तै, गर्भ रहेको ३० हप्तामा बच्चा खेल्ने पानीघर फुटेकाले छिटो सुत्केरी व्यथा लाग्ने खतरा देखिएपछि सुनितालाई सुविधा सम्पन्न अस्ताल लैजान रेफर गरिएको हो । बच्चा जन्मने समय ६ दिन पार गरेको, रक्तचापको समस्या देखिएको र बच्चा खेल्ने पानीको मात्रा कम देखिएकाले मेनुकालाई काठमाण्डौ रेफर गरिएको डा। लामाले बताउनुभयो ।
अवस्था गम्भीर भएको उल्लेख गर्दै स्वास्थ्य कार्यालयले पठाएको पत्रअनुसार सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हेलिकप्टर व्यवस्थाका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइ, सिंहदरबारलाई पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइले प्रसव वेदनाले छटपटाइरहेका महिलाको उद्धारका लागि हेलिकप्टर पठाएको हो ।
प्रतिक्रिया